सानिमा बैंक मान्म शाखाद्वारा पञ्चदेवल माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  ।   ८ चैत्र २०८२, आईतवार १७:५८

कालिकोट । सानिमा बैंक लिमिटेड को मान्म शाखाले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेवल माध्यमिक विद्यालय मा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

विश्वव्यापी रूपमा मनाइने ग्लोबल मनी विक २०२६ को अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप र सचेतना अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। “Smart Money Talks” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा बैंकका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई व्यवहारिक वित्तीय ज्ञान प्रदान गरेका थिए।

शाखा प्रमुख सुशील बिष्टका अनुसार कार्यक्रमका क्रममा विशेषगरी बचतको महत्त्व, बजेट व्यवस्थापन, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा बैंकिङ सेवासम्बन्धी आधारभूत जानकारीहरू प्रस्तुत गरिएको थियो। प्रशिक्षकहरूले सानै उमेरदेखि बचत गर्ने बानी बसाल्नुको आवश्यकता औंल्याउँदै आवश्यकता र इच्छाबीचको अन्तर बुझेर खर्च गर्ने सीप विकास गर्नुपर्नेमा जोड दिएको बताए ।

त्यसैगरी, पछिल्लो समय बढ्दो डिजिटल वित्तीय कारोबारसँगै देखिएका सम्भावित ठगीका घटनाबाट कसरी जोगिने भन्नेबारे पनि विस्तृत जानकारी दिइएको थियो। मोबाइल बैंकिङ, अनलाइन भुक्तानी तथा डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा विद्यार्थीहरूलाई सचेत गराइएको थियो।

कार्यक्रम अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको थियो जहाँ विद्यार्थीहरूले वित्तीय व्यवस्थापनका विभिन्न पक्षहरूबारे जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालयहरूमा यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिएको छ।

कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी, व्यवहारिक तथा समयसापेक्ष जानकारी प्रदान गरेको भन्दै सानिमा बैंक मान्म शाखाप्रति आभार व्यक्त गरेको थियो।

Next Post

देशका विभिन्न स्थानमा सवारी दुर्घटनास् ७ जनाको मृत्यु, १ घाइते

८ चैत्र २०८२, आईतवार १७:५८
काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका दुर्घटनामा मानवीय क्षति भएको हो। मृत्यु हुनेमध्ये पाल्पामा सबैभन्दा बढी चार जनाको ज्यान गएको छ भने रूपन्देही, कञ्चनपुर र […]