काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका दुर्घटनामा मानवीय क्षति भएको हो। मृत्यु हुनेमध्ये पाल्पामा सबैभन्दा बढी चार जनाको ज्यान गएको छ भने रूपन्देही, कञ्चनपुर र मोरङमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ।
यस्तै, मोरङको रङ्गेली नगरपालिका–७ मा मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा एक जना घाइते भएका छन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका घटनाबारे थप विवरण संकलन तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ।







