अपडेट

अविरल वर्षाले सुर्खेत–दैलेख सडक पूर्ण अवरुद्ध, सिस्नेटारमा ठूलो पहिरो

  ।   २१ श्रावण २०८२, बुधबार १३:५२

दैलेख। निरन्तरको वर्षाका कारण सुर्खेत–दैलेख सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। दैलेख सदरमुकामलाई सुर्खेतसँग जोड्ने यो अत्यन्तै महत्वपूर्ण सडक मार्ग पहिरोले अवरुद्ध हुँदा यात्रु र स्थानीयवासीहरू कठिनाइमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालका अनुसार डुबेश्वर गाउँपालिका–६ अन्तर्गत पर्ने सिस्नेटार भन्ने स्थानमा ठूलो पहिरो खसेको हो। उक्त पहिरोले सडकको दुबै किनारा पुरिनुका साथै सडकभरि ढुंगा, माटो र रुखहरू बगाएर ल्याएको कारणले गर्दा एकछिनमै आवतजावत सम्भव नभएको बताइएको छ।

डीएसपी बरालले भने, “सडक पूर्ण रूपमा बन्द भएको पुष्टि भइसकेको छ। सुरक्षाकर्मीहरू तत्काल घटनास्थलमा खटाइसकेका छौं। मौसम अनुकूल भएमा र थप पहिरोको जोखिम नदेखिएमा सडक एक घण्टाभित्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।”

उनले थप जनाए अनुसार, डोजरसहितको प्राविधिक टोलीलाई पनि खटाउने तयारी भइरहेको छ। आवश्यक परेमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा थप जनशक्ति र उपकरण परिचालन गरिनेछ। हाल यात्रुहरू सडक किनारमै रोकिएका छन् भने केही सवारीहरू फर्किन बाध्य भएका छन्।

सडक अबरुद्ध भएपछि सुर्खेतबाट दैलेख आउने र जाने मालबाहक तथा यात्रुवाहक सवारी साधनहरू पूर्ण रूपमा प्रभावित भएका छन्। सर्वसाधारण, विद्यार्थी, बिरामी तथा आकस्मिक कामका लागि यात्रामा निस्किएका मानिसहरू बाटोमै अलपत्र परेका छन्। कतिपयले वैकल्पिक मार्गको खोजी गरेका छन्, तर तत्कालका लागि अन्य सहज विकल्प उपलब्ध छैन।

स्थानीयवासीहरूका अनुसार सिस्नेटार क्षेत्रमा हरेक वर्ष वर्षायाममा पहिरो जाने गरेको भए पनि समयमै पूर्वसावधानी नअपनाएको गुनासो पनि उनीहरूले गरेका छन्। यस क्षेत्रमा साना तथा ठूला पहिरोका कारण हरेक वर्ष सडक अबरुद्ध हुने समस्या दोहोरिंदै आएको छ। यस पटकको पहिरो केही ठूलो भएको जनाइएको छ।

सडक पुनः सञ्चालनमा आउँदासम्म यात्रु र सवारी चालकहरूलाई सतर्कता अपनाउन सुरक्षा निकाय तथा स्थानीय प्रशासनले अनुरोध गरेका छन्। साथै, वर्षाका कारण अझ पहिरो जान सक्ने सम्भावना भएकाले यात्रुहरूले अत्यावश्यक नपरेसम्म यात्रा नगर्न पनि आग्रह गरिएको छ।

Next Post

११ करोड ठगी प्रकरण: ‘ब्रोकर नम्बर २२’ का महाप्रबन्धक तीन दिनको हिरासतमा

२१ श्रावण २०८२, बुधबार १३:५२
सुर्खेत। नेपाली पूँजी बजारमा ठूलो आर्थिक ठगी प्रकरणमा मुछिएका ‘ब्रोकर नम्बर २२’ (सिप्रि सेक्युरिटिज) का महाप्रबन्धक जयन्त श्रीवास्तवलाई अदालतले तीन दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार आदेश जारी गर्दै श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन स्वीकृति दिएको हो। उनलाई ११ करोड ५५ लाख […]