कालिकोटमा कांग्रेस नेता भूपेन्द्रजंग शाहीद्वारा उम्मेदवारी फिर्ता

  ।   ९ माघ २०८२, शुक्रबार १५:५४

कालिकोट । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका शाहीले आज निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन्।

कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा उभिएका शाहीलाई पन्छाउँदै पार्टी केन्द्रले कालिकोटमा हर्षबहादुर बमलाई टिकट दिएको थियो। सो निर्णयपछि असन्तुष्ट हुँदै शाही स्वतन्त्र उम्मेदवार बनेका थिए।

नेविसंघका पूर्वमहासचिवसमेत रहेका शाही २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत उम्मेदवार बनेका थिए। उम्मेदवारी फिर्ता लिएपछि प्रतिक्रिया दिँदै उनले पार्टी निर्देशनको सम्मान गर्दै आधिकारिक उम्मेदवारलाई जिताउन फिल्डमा खटिने बताएका छन्।

“अनेक असहमतिकाबीच पनि पार्टीको निर्णयलाई स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएको हुँ। अब पार्टीकै उम्मेदवार हर्षबहादुरजीको जितका लागि सक्रिय रूपमा लाग्छु,” शाहीले भने।

आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन रहेको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ गते हुने तय भएको छ।

 

Next Post

महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको बागी उम्मेदवारी अन्ततः फिर्ता

९ माघ २०८२, शुक्रबार १५:५४
कालिकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीवन बुढाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका बुढाले आज निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको बागी उम्मेदवारी […]