सुर्खेत । सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र सामाजिक नैतिकताविपरीत गतिविधिमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले शुक्रबार राति वीरेन्द्रनगर नगरपालिका–६ का विभिन्न होटल तथा रेस्टुरेन्टमा छापा मारेको थियो । छापामारीका क्रममा ‘उच्छृङ्खल गतिविधि’ भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा भुमिका रेस्टुरेन्ट एण्ड लजका सञ्चालक र सुरेश होटलकी सञ्चालक सहित १० जनालाई पक्राउ गरेको हो ।
अनुसन्धान जारी
प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।
“सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकता विपरीत गतिविधिमा संलग्न भएकाले उनीहरूमाथि आवश्यक कारबाही अघि बढाइनेछ,” प्रहरी प्रवक्ताले जानकारी दिए ।