मुगु । संघीयता गाउँ–गाउँमा सशक्तिकरण ल्याउने नाममा आएको भए पनि मुगुको सोरु गाउँपालिकामा भने यसले केही व्यक्तिलाई “चोरलाई चौतारो” बन्ने अवसर दिएको तथ्य उजागर भएको छ । शक्तिको दुरुपयोग र मिलेमतोका कारण पालिकाको करोडौं रकम अनधिकृत रूपमा भुक्तानी भएको खुलेको छ ।
सोरु गाउँपालिकामा जुनियर कर्मचारी तिर्थबहादुर शाहीलाई कानुन विपरीत निमित्त प्रमुख प्रशासकीय अधिकृत को जिम्मेवारी दिइएको थियो । शाहीले शक्तिको आडमा वरिष्ठ कर्मचारीलाई पाखा लगाउँदै, पदीय दुरुपयोगमार्फत २०८० असोजमा जिम्मेवारी गैरकानुनी ढंगले पालिका सञ्चालन गरेका थिए ।
मन्त्रालयले हटाएको, तर भुक्तानी जारी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ माघ ९ गते च.नं. १२८४ मार्फत शाहीलाई जिम्मेवारीबाट हटाउँदै, सिनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्न निर्देशन दिएको थियो । सोही पत्रमा शाहीको नाममा खाता सञ्चालन नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालय, मुगुलाई पनि निर्देशन गरिएको छ ।
तर खातामा रोक लगाइसकेपछि पनि शाहीले करिब १ करोड रुपैयाँभन्दा बढी रकम विभिन्न शीर्षकमा अनधिकृत रूपमा भुक्तानी गरेको प्रमाण कागजातमा फेला परेको छ । सामान्यतया एउटै बिल भुक्तानी गर्न हप्तौं लाग्ने प्रक्रियालाई उनले एकै दिनमा दर्जनौं भुक्तानी गरेको विवरण भेटिएको छ ।
अघिल्ला अनियमितता पनि
यसअघि २०८१ असार २७ गते शाहीले ‘मिडिया’ शीर्षकमा २ लाख ८३ हजार ३७० रुपैयाँ आफ्नै नाममा भुक्तानी लिएको तथ्यसमेत भेटिएको छ । त्यस्तै ६० लाख रुपैयाँको चेक काटिए पनि उजुरीका कारण पछि रद्द भएको बुझिएको छ ।
यो प्रक्रियामा तत्कालीन लेखा शाखाका कर्मचारी जेटबहादुर बुढा र बिमला कुमारी ढकालको समेत संलग्नता रहेको आशंका गरिएको छ । ढकाल हाल सरुवा भए पनि उनको विवरण पालिकाको वेबसाइटमा अद्यावधिक छैन भने बुढाको रेकर्डसमेत गायब छ ।
शक्तिको आड
शाही नेपाली कांग्रेसका नेता तथा हालका संघीय वन मन्त्री ऐनबहादुर शाही ठकुरीका भाइ हुन् । मन्त्री दाईको आडमा उनी पटक–पटक मनपरी तरिकाले विभिन्न निकायमा प्रभाव जमाउँदै आएको स्रोत बताउँछ ।
स्थानीयवासी आक्रोशित
स्थानीयवासीले शाहीले पदबाट हटाइएपछि समेत अनधिकृत रूपमा करोडौं खर्च गरेको विषयलाई गम्भीर भ्रष्टाचार भन्दै तत्काल छानबिन र कारबाही गर्न माग गरेका छन् ।
अध्यक्ष मौन, शंका गहिरिँदै
अनियमितता उजागर भइसके पनि सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही भने यसबारे मौन छन् । अध्यक्षको भनाइ अनुसार आफू जिल्ला बाहिर भएको बेला प्रमुख प्रसाशकिय अधिकृतले मनपरी ढंगले रकम बुक्तानी गरेको आरोप लागाए पनि यस बिषयमा अध्यक्ष भन्दा प्रमुख प्रसासकिय अधिकृतले पावर र पहुँच देखाएको बताए ।अनौपचारिक कुराकानीमा ‘बदमासी भएको छ’ भनी स्वीकार गरे पनि उनले किन कारबाहीको डण्डा चलाउन ढिला गरिरहेको भन्ने प्रश्न उठेको छ । स्थानीयवासीले अध्यक्षकै मिलेमतोमा यस्ता गतिविधि भएको आशंका व्यक्त गरेका छन् ।
मुगुको सोरु गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर शाहीमार्फत भएको करोडौंको अनियमितता अब छानबिन नहुने हो भने संघीयता र स्थानीय सरकारप्रति जनविश्वास थप कमजोर बन्ने खतरा बढेको छ ।