अपडेट

रास्कोटमा युवाको एकता र श्रमदानले देवताको मन्दिर पुनर्निर्माण

  ।   १५ भाद्र २०८२, आईतवार ०९:१७

कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–४ स्युनास्थित लाटेमस्टो देवताको मन्दिर स्थानीय युवाहरूको सक्रियता र श्रमदानमा पुनर्निर्माण सम्पन्न भएको छ।

गत साउन २० गतेबाट सुरु भएको मन्दिर निर्माण अभियान करिब एक महिनाभित्रै सम्पन्न भएको हो। रास्कोट नगरपालिका स्युना र टमट्टा बाडाका युवाहरूले आर्थिक योगदान, श्रमदान र सामूहिक सहभागिताबाट करिब एक लाखभन्दा बढी लागत संकलन गरी मन्दिर निर्माण गरेका हुन्।

युवाहरूको नेतृत्वमा भएको यो अभियान धार्मिक मात्र नभई सामाजिक चेतना र एकताको उदाहरणका रूपमा लिइएको छ। अभियानका सदस्य शैलेन्द्र टमट्टाले भने, “हामी युवाले दिन–रात नभनी, भोक–प्यासको पर्वाह नगरी एकताको भावना बोकेर मन्दिर पुनर्निर्माण गरेका हौँ।”

मन्दिरसँगै आसपासको क्षेत्रलाई व्यवस्थित बनाउन चौतारो, पधेरा र कुवासहितका सामाजिक संरचनाहरू बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ। यसै विषयमा रास्कोटका युवा कमल टमट्टाले भने, “धार्मिक वा सामाजिक संरचना विकासमा युवामाथि भरोसा गरेर जिम्मेवारी दिन सके संरचना दिगो हुन्छ।”

स्थानीयवासीहरूले युवाको जागरण, एकता र श्रमदानलाई प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्। उनीहरूका अनुसार, मन्दिर पुनर्निर्माणले मात्र धार्मिक आस्था जोगाएको छैन, यसले समुदायबीच सहकार्य र सामाजिक बन्धनलाई अझ मजबुत पारेको छ।

युवाहरूले आगामी दिनमा पनि धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्निर्माण र विकास कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।

स्थानीय सरकारको चासो न्यून देखिए पनि युवाहरूले देखाएको सक्रियता र जिम्मेवारीलाई गाउँलेहरूले खुलेर प्रशंसा गरेका छन्। यस पुनर्निर्माणले रास्कोटका युवालाई सामाजिक नेतृत्व र सामुदायिक विकासको मार्गदर्शक उदाहरणका रूपमा चिनाएको छ।

Next Post

गगने खोलाले थुनेको कर्णाली राजमार्ग, चौध घण्टादेखि जनजीवन अस्तव्यस्त

१५ भाद्र २०८२, आईतवार ०९:१७
कर्णालीको बाटो, कर्णालीकै पीडा कालिकोट । कालीकोटको शुभकालीका–१ मा गगने खोलाले उफ्रँदै ल्याएको लेदो र ठूला ढुंगाले कर्णाली राजमार्ग थुनिएको छ। राजमार्ग थुनिएको चौधौँ घण्टासम्म पनि बाटो खुल्न सकेको छैन। सडक विभाग, स्थानीय प्रशासन, प्रहरी र जनताले खप्पड ठोक्दै सडक खोल्ने प्रयास गरिरहेछन्, तर भारी वर्षा र खोलाको प्रकोपले सडकलाई […]