कालिकोट । भौगोलिक विकटता र सीमित स्रोत–साधनका बाबजुद सामाजिक विकास कार्यालय कालिकोटले चालु आर्थिक वर्षमा वित्तीय प्रगतिमा उल्लेखनीय फड्को मारेको छ। कार्यालय वित्तीय प्रगतिका आधारमा कालिकोट जिल्लामै पहिलो तथा कर्णाली प्रदेशभरिमा दोस्रो स्थान हासिल गर्न सफल भएको हो।
कर्णाली प्रदेश स्तरीय वार्षिक समीक्षाको समग्र वितीय र भौतिक प्रगति तर्फ सामाजिक विकास कार्यालय हुम्ला प्रथम र कालिकोट दोस्रो भएको हो ।
कार्यालयले विनियोजित बजेटलाई समयमै कार्यान्वयनमा लैजाँदै सामाजिक विकासतर्फका लक्षित कार्यक्रम तथा योजनालाई प्रभावकारी रूपमा अघि बढाएपछि वित्तीय प्रगतिमा सुधार आएको जनाएको छ। नियमित अनुगमन, सरोकारवाला निकायसँगको समन्वय तथा कार्यक्रम कार्यान्वयनमा तीव्रताले कार्यालयलाई प्रदेशस्तरमै उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको कार्यालय प्रमुख अबिराज शाहीले बताए।
“भौगोलिक कठिनाइका बीच पनि स्वीकृत कार्यक्रमलाई समयमै अघि बढाउने, आवश्यक प्रक्रिया छिटो टुंग्याउने र निरन्तर प्रगति समीक्षा गर्ने कार्यलाई प्राथमिकता दिएका छौँ,” प्रमुख शाहीले भने, “यसको परिणामस्वरूप वित्तीय प्रगतिमा जिल्लामै पहिलो र प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल भएका हौँ।”
कालिकोटमा दुर्गम बस्ती, कठिन भूगोल, यातायातको असहजता तथा सीमित जनशक्तिका कारण सरकारी कार्यक्रम कार्यान्वयनमा चुनौती रहँदै आएको छ। यस्ता चुनौतीका बीच कार्यालयले शिक्षा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको हो।
कार्यालयका अनुसार वित्तीय प्रगति केवल बजेट खर्च बढाउने विषयमा सीमित नराखी लक्षित वर्गसम्म कार्यक्रमको पहुँच, सेवा प्रवाहको प्रभावकारिता र योजनाको परिणाम लाई समेत केन्द्रमा राखिएको छ। स्थानीय तह तथा सम्बन्धित सरोकारवालासँगको समन्वयले कार्यक्रम कार्यान्वयनमा थप सहजता भएको कार्यालय प्रमुख शाहीको भनाइ छ।
कार्यालयका लेखापाल बिश्वामित्र उपाध्यायले वित्तीय प्रगतिमा प्राप्त उपलब्धि कर्मचारीको सक्रियता, नियमित कार्यसम्पादन समीक्षा र स्वीकृत कार्यक्रमलाई समयमै अघि बढाउने प्रयासको परिणाम भएको बताए।
“बजेट खर्च हुनु मात्र उपलब्धि होइन, खर्च भएको बजेटबाट नागरिकले कस्तो सेवा पाए र त्यसको प्रभाव लक्षित समुदायमा कति पुग्यो भन्ने विषय अझ महत्वपूर्ण हुन्छ,” उपाध्यायले भने, “आगामी दिनमा वित्तीय अनुशासनसँगै बजेटको गुणस्तर, पारदर्शिता र परिणाममुखी कार्यान्वयनमा जोड दिनेछौँ।”
सामाजिक विकास कार्यालय कालिकोटले हासिल गरेको प्रदेशस्तरीय उपलब्धिलाई जिल्लाको सार्वजनिक सेवा तथा बजेट कार्यान्वयन प्रणालीमा सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ। विशेषगरी विगतमा बजेट कार्यान्वयनमा भौगोलिक तथा प्रशासनिक चुनौती देखिँदै आएको कालिकोटमा प्रदेशमै दोस्रो स्थान हासिल हुनु उल्लेखनीय उपलब्धि मानिएको छ।
तर, कार्यालयले आगामी दिनमा वित्तीय प्रगतिसँगै कार्यक्रमको गुणस्तर, पारदर्शिता र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणामलाई अझ प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। बजेट खर्चको अंकभन्दा त्यसबाट सिर्जना भएको सामाजिक प्रभावलाई उपलब्धिको मुख्य आधार बनाउन सके मात्र वित्तीय प्रगति वास्तविक अर्थमा नागरिकमुखी विकासको सूचक बन्ने सरोकारवालाको धारणा छ।
सामाजिक विकास कार्यालय कालिकोटले आगामी दिनमा पनि प्राप्त उपलब्धिलाई निरन्तरता दिँदै सामाजिक विकासका कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने जनाएको छ। दुर्गम जिल्लाबाट प्रदेशभरिका कार्यालयमध्ये दोस्रो स्थान हासिल गर्नुले सीमित स्रोतका बीच पनि प्रभावकारी योजना कार्यान्वयन सम्भव छ भन्ने सन्देश दिएको छ।







