पुष्पलाल स्मृति दिवसमा सुर्खेतमा वामपन्थी दलको भूमिकामाथि विचार गोष्ठी

  ।   २८ श्रावण २०८३, बिहीबार २१:२४

सुर्खेत । वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका, कम्युनिष्ट आन्दोलनको अवस्था र समसामयिक राजनीतिक विषयमा केन्द्रित विचार गोष्ठी सुर्खेतमा आयोजना हुने भएको छ।

पुष्पलाल स्मृति प्रतिष्ठान, कर्णाली प्रदेशको समन्वय तथा पुष्पलाल मित्रता केन्द्र को आयोजनामा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी आयोजना गर्न लागिएको हो। कार्यक्रम पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यसंयोजन समिति सदस्य देवप्रसाद गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी कार्यसंयोजन समिति सदस्य जगन्नाथ खतिवडा विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

कार्यक्रममा पूर्णबहादुर शाही, दीपक शाही र गणेश बोगटी लगायतले विभिन्न विषयमा आफ्नो धारणा तथा विचार प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नेपाल दलित मोर्चाका केन्द्रीय विदेश विभाग प्रमुख बसन्त कुमार विश्वकर्माका अनुसार, पछिल्लो समय मुलुकको राजनीतिक अवस्था तीव्र रूपमा परिवर्तन भइरहेको अवस्थामा वामपन्थी शक्तिहरूबीचको सहकार्य, एकता, राजनीतिक भूमिका र आगामी दिशाबारे गम्भीर बहस आवश्यक भएकाले विचार गोष्ठी आयोजना गरिएको हो।

विश्वकर्माले कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ बनाउन विचार, नीति र व्यवहारका विषयमा खुला छलफल आवश्यक रहेको बताए। उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै वामपन्थी दलहरूले जनताको अपेक्षा, सामाजिक न्याय, राष्ट्रियता, लोकतन्त्र तथा आर्थिक–सामाजिक रूपान्तरणका सवालमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गोष्ठीमा महत्वपूर्ण बहस हुनेछ।

उनले भने, “वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूको भूमिका र आगामी राजनीतिक दिशाबारे गम्भीर समीक्षा तथा बहस आवश्यक छ। पुष्पलालले अघि सारेका विचार र कम्युनिष्ट आन्दोलनका मूलभूत मान्यतालाई वर्तमान सन्दर्भसँग जोड्दै अघि बढ्ने विषयमा पनि गोष्ठी केन्द्रित हुनेछ।”

आयोजकका अनुसार विचार गोष्ठी २०८३ साउन ३० गते शनिबार बिहान ११ः३० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुनेछ। गोष्ठीमा राजनीतिक दलका नेता–कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

गोष्ठीले वामपन्थी आन्दोलनको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे साझा धारणा निर्माण गर्न तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा बहसको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

Next Post

७९१ आवेदनलाई पछि पार्दै कर्णालीका १७ वर्षीय किशोर ग्लोकल टिन हिरो नेपालको टप २० मा

२८ श्रावण २०८३, बिहीबार २१:२४
सुर्खेत । कर्णाली प्रदेशका युवा वातावरण अभियन्ता किशोर न्यौपाने ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ को टप २० मा छनोट भएका छन्। देशभरबाट प्राप्त ७९१ आवेदनमध्ये १७ वर्षीय किशोर उत्कृष्ट २० मा पर्न सफल भएका हुन्। किशोरले विगत केही वर्षदेखि कर्णालीमा जलवायु परिवर्तन तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै […]

सम्बन्धित शीर्षक