उपचारपछि घर फर्किँदै गरेको बिरामी सवार एम्बुलेन्स दुर्घटना : ८ जना घाइते

  ।   २१ माघ २०८२, बुधबार १२:४३

दैलेख । नेपालगञ्जमा चार महिना लामो उपचारपछि घर फर्किँदै गरेकी एक बिरामी सवार एम्बुलेन्स बुधबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। दुर्घटनामा नौमूले गाउँपालिका–६ सल्लेरीकी ५५ वर्षीया भविसरा दर्लामी गम्भीर घाइते हुनुभएको छ।

मस्तिष्कघातको उपचारपछि शुभेच्छुकहरूको आर्थिक सहयोगमा घर फर्किँदै गर्नुभएकी भविसरा घर पुग्नै लाग्दा दुर्घटनामा पर्नुभएको हो। कर्णाली प्रदेश ०२–००१ झ ०१०६ नम्बरको नौमूले गाउँपालिकाको एम्बुलेन्स नौमूले गाउँपालिका–५ स्थित गजमाली भन्ने स्थानमा बुधबार बिहान दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दुर्घटनामा भविसराको टाउकोमा गम्भीर चोट लागेको छ भने सोही स्थानका ६५ वर्षीय कर्णबहादुर दर्लामीको छातिमा गम्भीर चोट लागेको छ। एम्बुलेन्स चालक नौमूले गाउँपालिका–५ सल्लेरी निवासी २६ वर्षीय इन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा घाइते हुने अन्य व्यक्तिहरूमा ३५ वर्षीया पवित्रा सलामी, उहाँका ५ वर्षीय छोरा छविलाल सलामी, ३३ वर्षीय अमर सलामी, २६ वर्षीया गीता योगी, ३३ वर्षीय दिपेन्द्र योगी र ४० वर्षीया देवीसरा योगी रहेका छन्। उनीहरू सबै नौमूले गाउँपालिका–६ सल्लेरीका बासिन्दा हुन्।

घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

एमाले १२ नेताको सामूहिक राजीनामा, नेतृत्वमाथि स्वेच्छाचारको आरोप

२१ माघ २०८२, बुधबार १२:४३
सिरहा । नेकपा (एमाले) सिरहामा गम्भीर आन्तरिक संकट देखिएको छ। प्रदेश कमिटीदेखि वडा कमिटीसम्मका विभिन्न तहका १२ जना नेताले पार्टीको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। गोलबजारमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। राजीनामा दिने नेताहरूले पार्टी नेतृत्वमा स्वेच्छाचारी […]