एमाले १२ नेताको सामूहिक राजीनामा, नेतृत्वमाथि स्वेच्छाचारको आरोप

  ।   २१ माघ २०८२, बुधबार १३:१६

सिरहा । नेकपा (एमाले) सिरहामा गम्भीर आन्तरिक संकट देखिएको छ। प्रदेश कमिटीदेखि वडा कमिटीसम्मका विभिन्न तहका १२ जना नेताले पार्टीको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्।

गोलबजारमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। राजीनामा दिने नेताहरूले पार्टी नेतृत्वमा स्वेच्छाचारी व्यवहार, एकल निर्णय प्रक्रिया र आलोचनामाथि दमन हाबी भएको आरोप लगाएका छन्।

नेताहरूका अनुसार संगठनभित्रै बसेर सुधारको प्रयास गरिए पनि नेतृत्वले त्यसलाई गम्भीर रूपमा नलिएको, इमानदार र आलोचनात्मक कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढेको तथा फरक मत राख्नेहरूलाई दबाउने नीति अपनाइएको छ। यही कारण पार्टीमा बसिरहनु असम्भव भएको उनीहरूको निष्कर्ष छ।
राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य पुष्पलाल पाख्रिन, पूर्व जिल्ला कमिटी सदस्य माधवबहादुर बुढाथोकी, तथा बुद्धिजीवी तथा शिक्षक जनसंगठनका प्रदेश सदस्य भीमबहादुर थापा रहेका छन्।

त्यसैगरी जिल्ला तहबाट धनराज यादव (पूर्व जिल्ला कमिटी सदस्य), तुलसीप्रसाद उपाध्याय (जिल्ला कमिटी सदस्य), प्रमोदकुमार लामा (जिल्ला कमिटी सदस्य), तेजकुमार लामा (पूर्व जिल्ला कमिटी सदस्य) ले पार्टी त्यागेका छन्।

नगर तथा वडा तहबाट पूर्व वडा कमिटी अध्यक्ष राजकरण साह, नगर कमिटी सचिवालय सदस्य रन्जितकुमार लामा, नगर सदस्य ताराबहादुर तामाङ, किरणकुमार स्याङ्वा र राजकुमार महतो ले सामूहिक राजीनामा दिएका हुन्।

एमालेभित्र असन्तुष्टि चुलिँदै

राजनीतिक विश्लेषकहरूका अनुसार सिरहामा देखिएको यो घटना एमालेभित्र बढ्दो असन्तुष्टि र गुटबन्दीको संकेत हो। स्थानीय तहमा प्रभावशाली नेताहरू नै पार्टीबाट बाहिरिनु आगामी निर्वाचन र संगठन विस्तारमा एमालेका लागि चुनौतीपूर्ण बन्न सक्ने आँकलन गरिएको छ।

राजीनामा दिएका नेताहरूले आगामी राजनीतिक यात्रा बारे भने खुलाएका छैनन्। तर उनीहरू वैकल्पिक राजनीतिक धार वा नयाँ गठबन्धनतर्फ जान सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

यस विषयमा एमाले सिरहा जिल्ला नेतृत्वको आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म आएको छैन।

Next Post

फागुन २१ को निर्वाचन तयारी तीव्र : मुगुमा नमुना मतदान प्रदर्शन

२१ माघ २०८२, बुधबार १३:१६
रतन बहादुर रावल, मुगु । मुगुमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान (डेमो) प्रदर्शन गरिएको छ। सदरमुकाम गमगढी बजारस्थित देविदत्त गण (ख) सुरक्षा सेमूमा आयोजित नमुना मतदान कार्यक्रममार्फत मतदातालाई मतदान प्रक्रियाबारे व्यवहारिक जानकारी गराइएको हो। नेपाली सेना श्री हनुमान ध्वज गुल्म मुगुको आयोजनामा सम्पन्न […]

सम्बन्धित शीर्षक