रुकुम पश्चिम । रुकुम पश्चिमबाट काठमाडौं जाँदै गरेको जिल्ला समन्वय समिति रुकुम पश्चिमको सरकारी स्कार्पियो मध्यपहाडी लोकमार्ग अन्तर्गत मुसिकोट नगरपालिका–८ घोरखानीमा यात्रुबाहक बससँग ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि दुवै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आज बिहान करिब ७स्३० बजे खलंगाबाट काठमाडौंतर्फ जाँदै गरेको क.प्र.०२–००१ झ ००९२ नम्बरको सरकारी स्कार्पियो विपरीत दिशाबाट काठमाडौंदेखि चौरजहारीतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५१८७ नम्बरको यात्रुबाहक बससँग ठोक्किएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार साँघुरो सडकमा एकअर्कालाई साइड दिने क्रममा बसले स्कार्पियोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडकमा सवारी आवागमन प्रभावित भए पनि प्रहरीको सक्रियतामा दुवै सवारी हटाएर यातायात सञ्चालन सामान्य बनाइएको थियो।
दुर्घटनामा सरकारी स्कार्पियोको अगाडिको मडगार्ड, बम्पर, हेडलाइट तथा चालकतर्फको ढोकामा उल्लेख्य क्षति पुगेको छ। बसको दाहिनेतर्फ अगाडिको भागमा भने सामान्य स्क्रेच लागेको प्रहरीले जनाएको छ।
दुर्घटनाका बेला यात्रुबाहक बसमा चालकसहित २२ जना सवार रहेका थिए भने सरकारी स्कार्पियोमा चालकसहित ४ जना यात्रा गरिरहेका थिए। सबै यात्रु सकुशल रहेको र कसैलाई पनि चोटपटक नलागेको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले दुर्घटनास्थलको मुचुल्का तयार गरी दुवै सवारीलाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको वास्तविक कारण, चालकको लापरबाही वा अन्य प्राविधिक पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
यस घटनाले मध्यपहाडी लोकमार्गका कतिपय साँघुरा तथा घुम्ती सडकखण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ। वर्षायाममा सडक चिप्लो हुने, दृश्यता कम हुने तथा सवारी चाप बढ्ने भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानीपूर्वक सवारी सञ्चालन गर्न प्रहरीले सबै चालकलाई आग्रह गरेको छ।








