कर्णालीमा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लाई उत्पादनसँग जोड्ने

  ।   १२ बैशाख २०८२, शुक्रबार १७:५६

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लाई उत्पादनसँग जोड्ने भएको छ । उत्पादनसँग जोडेर कार्यान्वयन गर्दा प्रभावकारी हुने भएपछि सरकारले रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्ने भएको हो ।

सरकारले नयाँ कार्यविधि निर्माण गरेर मुख्यमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जनसहित कार्यान्वयन गर्न लागेको छ । कर्णाली रोजगार कार्यक्रम कार्यविधि–२०८१ स्वीकृति भएको छ । गत शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो ।

आर्थिक भार कम पर्ने तथा रोजगारीमा जोड्नका लागि कार्यक्रमलाई उत्पादनसँग जोड्न लागिएको हो । नयाँ निर्माण गरिएको कार्यविधि अनुसार कृषि तथा उद्यम विकासमा जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । यसअघि सञ्चालन गरिएको कार्यक्रम रोजगारी दिनेगरी कार्यान्वयन भइरहेको थियो । जसले गर्दा लागत धेरै तथा प्रतिफल न्यून आउने गरेको भन्दै सरकारले रोजगारी सिर्जना तथा आर्थिक लाभ लिने गरी कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ । सरकारले आर्थिक व्यायभार घटाउने तथा रोजगारीमा वृद्धि गर्ने लक्ष्य राखेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । कार्यक्रमको प्रभावकारिता बढाउन उत्पादनसँग जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालले बताए ।

कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागु भएको छ । यसअघि १५ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षदेखि प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । प्रदेश सरकारले आव २०७६/७७ देखि मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरेको थियो । यो वर्ष एक हजार छ सय व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले राखेको छ । त्यसका लागि एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

Next Post

सदरमुकामको छेउमै ताडि गाउँ तर अधुरो सपना सविल बसपार्क

१२ बैशाख २०८२, शुक्रबार १७:५६
आमिर पाण्डे कालिकोट । जिल्ला खाँडाचक्र नगरपालिका सदरमुकका मान्म बजारदेखि झण्डै सात–आठ सय मिटर परको हरियालीले ढाकिएको एउटा गाउँ—खाँडाचक्र नगरपालिका-३ र ४ ताडि। जहाँ बिहानै चराहरूको चिर्बिर, खेतबारीमा हलो जोत्न किसानको हर्ष, मन्दिरमा गुञ्जिने घण्टीको स्वर र युवाहरूको मिहिनेतले गाउँको गति देखिन्छ। तर त्यो गति अझै राज्यको नजरमा परेको छैन। […]