महिनावारीलाई विभेद होइन, स्वास्थ्य र स्वच्छताको विषयका रूपमा बुझ्नुपर्छ उपसभामुख न्यौपाने

  ।   २३ आश्विन २०८३, शुक्रबार २०:३२

सुर्खेत । कर्णाली प्रदेशसभाकी उपसभामुख यसोदा न्यौपानेले महिनावारीका कारण महिलामाथि हुने विभेद अन्त्य गर्न घरपरिवारदेखि समाज र राज्यका निकायसम्म व्यवहार परिवर्तन आवश्यक रहेको बताउनुभएको छ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको आयोजनामा, प्लान इन्टरनेशनल नेपालको सहयोग तथा सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको समन्वयमा असोज २३ गते आयोजित महिनावारी स्वास्थ्य तथा स्वच्छता सम्मेलन समापन सत्रमा बोल्दै उहाँले कानुन र नीतिहरू बने पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिनावारीसम्बन्धी विभेद कायमै रहेको बताउनुभयो।

उपसभामुख न्यौपानेले महिनावारीका बेला महिलाले भोग्ने शारीरिक पीडा, मानसिक तनाव र सामाजिक अपमानलाई पुरुष तथा परिवारका सदस्यले समेत बुझ्नुपर्नेमा जोड दिनुभयो। आफूले पनि विद्यालय जाने उमेरमा महिनावारीका कारण मन्दिर आसपासबाट हिँड्नसमेत कठिनाइ भोगेको अनुभव सुनाउँदै उहाँले किशोरीहरूले अहिले पनि यस्ता समस्या भोग्नुपर्ने अवस्था दुःखद भएको उल्लेख गर्नुभयो।

“महिलालाई मात्रै बुझेर हुँदैन, पुरुषले पनि महिलाको अवस्था र पीडा बुझ्नुपर्छ। हामी एउटै समाजका अभिन्न हिस्सा हौँ, त्यसैले महिनावारीका नाममा हुने विभेद अन्त्य गर्न सबैको साथ आवश्यक छ,” उहाँले भन्नुभयो।

उहाँले महिनावारी स्वास्थ्य तथा स्वच्छताका लागि आवश्यक पूर्वाधार, शौचालय, सरसफाइ र सहज वातावरणको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। विशेषगरी विद्यालय तथा सार्वजनिक स्थानमा किशोरीहरूले मर्यादित र सुरक्षित रूपमा महिनावारी व्यवस्थापन गर्न सक्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

न्यौपानेले समाजमा छोराछोरीप्रति गरिने फरक व्यवहार, महिलामाथि हुने टिप्पणी र सामाजिक सोचमा रहेको असमानता परिवर्तन गर्नुपर्ने बताउँदै महिलाहरूलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो। उहाँले महिलाको सशक्तीकरण भाषणमा मात्र सीमित नराखी घरबाटै व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।

“परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्छ। घरमा आमा, श्रीमती, छोरी र दिदीबहिनीलाई कति सहयोग गरेका छौँ भन्ने कुरा सबैले आत्मसमीक्षा गर्नुपर्छ,” उहाँले भन्नुभयो।

उपसभामुख न्यौपानेले किशोरी तथा महिलाले आफ्ना समस्या खुलेर राख्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै महिनावारीसम्बन्धी विभेद अन्त्य गर्ने अभियानमा आफू निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले किशोरीहरूलाई आफ्ना अधिकारबारे सचेत हुन, कठिनाइसँग जुध्न र आफ्नो लक्ष्य प्राप्तिका लागि आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्दै महिनावारीलाई लाज, अपमान र विभेदको विषय नभई स्वास्थ्य तथा स्वच्छतासँग जोडिएको प्राकृतिक प्रक्रियाका रूपमा बुझ्नुपर्ने बताउनुभयो।