अपडेट

सदरमुकामको छेउमै ताडि गाउँ तर अधुरो सपना सविल बसपार्क

  ।   १३ बैशाख २०८२, शनिबार १६:४७

आमिर पाण्डे
कालिकोट । जिल्ला खाँडाचक्र नगरपालिका सदरमुकका मान्म बजारदेखि झण्डै सात–आठ सय मिटर परको हरियालीले ढाकिएको एउटा गाउँ—खाँडाचक्र नगरपालिका-३ र ४ ताडि। जहाँ बिहानै चराहरूको चिर्बिर, खेतबारीमा हलो जोत्न किसानको हर्ष, मन्दिरमा गुञ्जिने घण्टीको स्वर र युवाहरूको मिहिनेतले गाउँको गति देखिन्छ। तर त्यो गति अझै राज्यको नजरमा परेको छैन।

ताडि: जहाँ सम्भावनाले बोलाउँछ

ताडि त्यस्तो गाउँ हो, जहाँ चारै तिर पहाडले घेरेको विचमा मिलेको भूगोल छ, पानीको अभाव छैन, फलफूल र अन्नले खेतभरि हरियाली ल्याउँछ। धान, मकै, गहुँ, जौ, आलु, तरकारीदेखि स्याउ, सुन्तला, अमिलो, कागती—जे फल्छ, मिठो स्वाद दिन्छ। तर त्यही उत्पादन न त राम्रोसँग बजार पुग्छ, न त मूल्य पाउँछ। किनभने किसानसँग उब्जनी छ, तर न आधुनिक प्रविधि, न प्रशोधन केन्द्र, न त बजारको सुनिश्चितता।

धर्म, संस्कार र संस्कृति

ताडिमा पूजा–मालिका माइ, मष्टा धल्पुरा, तिल्खुरेधल्पुरा, कालाशिल्ला र पाल्त महादेव, धाइडे, निराग्ला, पुनिमता, कुलदेह जस्ता धार्मिक स्थलहरू छन्, जहाँ बर्सेनि मेला लाग्छ, भक्तजनहरूको ओइरो लाग्छ। गाउँलेहरूले देउडा ,झोडा ,मागल,लोकदोहोरी गीत–गजल, भजन,पञ्चे बाजा, हुड्के नाच,धामिझाक्री नाच र नाचगानमार्फत आस्था व्यक्त गर्छन्। तर पूर्वाधार नहुँदा ती स्थलहरू श्रद्धाको केन्द्र भएर पनि प्रचार–प्रसार विहीन छन्।

शिक्षा : उज्यालोको बाटो, तर अपूरो

कालिका आधारभूत विद्यालय वर्माकोट,नवज्योति आधारभूत विद्यालय गैरा,सालडाँडा आधारभूत विद्यालय वद्रिगाउॅं, जनजीवन माध्यमिक विद्यालय र जिल्लाको एक मात्र आङिक क्याम्पस—तिलाकर्णाली बहुमुखी क्याम्पस—युवाहरूको आशाको केन्द्र हुन सक्थे। तर शिक्षक अभाव, स्रोतको कमी, पुस्तकको अपुग र प्रविधिको पहुँच नहुँदा ती संस्थाहरू आफैं सङ्घर्षरत छन्। शिक्षाले उज्यालो दिन्छ भन्ने बुझाइ छ, तर त्यसका लागि चाहिने आधार भने अपूरा छन्।

अधुरो सपना : सविल बसपार्क

ताडिको सविल बसपार्क—एक पटकको ठूलो आशा थियो। मानिन्थ्यो, गाडी रोकिने, यात्री आउने, पसल चल्ने, गाउँ फस्टाउने। तर आज त्यो संरचना सुनसान छ—न गाडी आउँछन्, न मान्छे। त्यो अब योजनाको होइन, उपेक्षाको स्मारक बनेको छ।

गाउँ सदरमुकामको छेउमै, तर‘

ताडि मान्म बजारकै छेउमा छ। यहाँका बासिन्दाहरू सागसब्जी लिएर बजार आउँछन्, भने बजारका सरकारी गैरसरकारी संघसंस्थाका कर्मचारी, सुरक्षाकर्मी, बजारमा व्यवसाय गर्दै आएका व्यापारी लुगा धुन, नुहाउन, पानी लिन ताडि गाउँमा आउने गर्छन्। तर ताडिको आफ्नै समस्या भने बेवास्ताको सिकार छ—न राम्रो स्वास्थ्य सेवा, न व्यवस्थित सडक, न नियमित यातायात।

सबै जातजाती मिलेर बनेको गाउँ

ताडिमा वसोवास गर्ने ब्राह्मण, क्षेत्री र दलित सबैको साझा थलो हो। यहाँ जातीय सद्भाव, मेलमिलाप र सहयोगको संस्कृति बलियो छ। परस्परको दुःख–सुख बाँड्ने परम्परा छ, तर राज्यले त्यो भावना बुझ्न सकेको छैन।

हरियाली, पशुपालन र नयाँ सम्भावना

ताडि वनजंगल, घाँसे मैदान र उब्जनी भूमिले भरिएको छ। यहाँ गाई, भैंसी, बाख्रा, कुखुरा, कालिज जस्ता पशुपालनमा ठूलो सम्भावना छ। गाउँलेले मान्म बजारमा दूध, घ्यू, फलफूल निरन्तर बेचिरहेका छन्। तर सहकारी नहुँदा र तालिम अभावले त्यो व्यवसाय अझै परम्परागत ढंगमै सीमित छ।

अब के ?

ताडि केवल भूगोल होइन, यो सपना हो—जसले कर्णालीको भविष्य बनाउने सामर्थ्य राख्छ। ताडि जस्ता गाउँहरूमा लगानी, योजनाबद्ध विकास र राज्यको आत्मीयता आवश्यक छ। शिक्षा, कृषि, पर्यटन, पूर्वाधार र स्वास्थ्यको समुचित विकास गर्न सके—ताडि उज्यालो मात्र होइन, कर्णालीको नेतृत्व गर्ने गाउँ बन्न सक्छ।

तर यदि आज पनि नजरअन्दाज गरियो भने, भोलि ताडि उज्यालो होइन, बेवास्ताको ऐतिहासिक प्रतीक बन्नेछ।

Next Post

सल्यान सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा दुई घर जलेर नष्ट

१३ बैशाख २०८२, शनिबार १६:४७
सल्यान । जिल्लाको काल्चे सल्लेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा दुई घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका वडा नं १ को काल्चे सल्लेरी सामुदायिक वनमा लागेको ढडेलो बस्तीमा फैलिदा दुई वटा घर जलेको वडाध्यक्ष प्रकाश हमालले जानकारी दिए । दिउँसो करिब १ बजेबाट सुरु भएको […]

सम्बन्धित शीर्षक