कालिकोट । कर्मचारीहरूबीच आपसी सद्भाव, समन्वय र सहकार्यलाई थप मजबुत बनाकर्मचारीउने उद्देश्यले कर्मचारी मिलन केन्द्र कालिकोटको आयोजनामा नव वर्ष २०८३ सालको भित्तेपात्रो विमोचन तथा वितरण कार्यक्रम भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष अबिराज शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा मिलन केन्द्रका संरक्षक गोकर्णराज सुयलको प्रमुख आतिथ्यता रहेको हो । कार्यक्रममा कर्णाली प्रदेशका माननीय मुख्य न्यायाधिवक्ताको विशेष आतिथ्यता रहेको हो भने जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, राष्ट्रसेवक कर्मचारीहरू तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको हो ।
उक्त अवसरमा कर्मचारी मिलन केन्द्रद्वारा प्रकाशित नव वर्ष २०८३ सालको भित्तेपात्रो विधिवत् विमोचन तथा वितरण गरिएको छ । साथै कालिकोट जिल्लामा सरुवा भई आउनुभएका खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशीलगायत विभिन्न कार्यालयमा कार्यभार सम्हाल्न आउनुभएका नवआगन्तुक कर्मचारीहरूलाई स्वागत गर्दै शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुयलले कर्मचारीहरूबीच आपसी सहकार्य, अनुशासन र सकारात्मक सम्बन्ध कायम गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कर्मचारी मिलन केन्द्रले जिल्लामा कर्मचारीहरूबीच आत्मीयता बढाउनुका साथै सकारात्मक कार्यसंस्कृति निर्माण गर्न उल्लेखनीय योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कार्यालयबीचको समन्वय र कर्मचारीहरूबीचको आत्मीय सम्बन्ध बलियो भए सेवाप्रवाह स्वतः प्रभावकारी बन्छ । यस्ता कार्यक्रमले कर्मचारीहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै संस्थागत सम्बन्धलाई अझ सुदृढ बनाउँछ ।”
कार्यक्रमका अध्यक्ष अबिराज शाहीले नव वर्ष २०८३ साल सम्पूर्ण कर्मचारी तथा नागरिकका लागि सुख, शान्ति, समृद्धि र सफलताको वर्ष बन्ने शुभकामना व्यक्त गर्दै सेवाग्राहीमैत्री र प्रभावकारी सेवा प्रवाहमा सबै कर्मचारी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्मचारी मिलन केन्द्रले आगामी दिनमा पनि कर्मचारीहरूबीच भाइचारा, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने खालका रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी विभिन्न कार्यालयका कर्मचारीहरूले कर्मचारी मिलन केन्द्रले सञ्चालन गर्दै आएका रचनात्मक तथा समन्वयात्मक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुनुपर्ने धारणा राखेका हुन ।
स्वागत, शुभकामना तथा आपसी सद्भाव आदानप्रदानका बीच सम्पन्न कार्यक्रमले कर्मचारीहरूबीच थप आत्मीयता र सहकार्यको वातावरण निर्माण गरेको सहभागीहरूले बताएका छन् ।







