अपडेट

चुनमती शाहीको घरखर्च गिट्टी कुटेर :गिट्टी नकुटे चुलो बल्दैन

  ।   २९ बैशाख २०८२, सोमबार ०९:०१

जुम्ला । मुगु छायानाथ रारा नगरपालिका–७, पिनागाउँका चुनमती शाहीको घरखर्च गिट्टी कुटेर चलिरहेको छ । उनको घर मुगु भए पनि जुम्ला चन्दननाथ नगरपालिका–४, मालाभिडको सडकमा गिट्टी कुटेर घरखर्च चलाई रहेकि छन् ।

वैशाखको चर्को गर्मीमा चुनमतीको शरीर पसिनाले भिजेको हुन्छ । अनुहार धुलाम्मे हुनुका साथै ओठमुख सुकेका हुन्छन् । गिट्टी कुटेरै उनको हत्केलामा ठेलासमेत बसेका छन् । दायाँ हातमा हथौडा र बायाँमा शाहीको ढुङ्गा हुन्छ । च्यातिएका पन्जा लगाएर उनि गिट्टी कुट्ने गर्छिन्। तर भनेको बेला गिट्टी बिक्री हुँदैन । कोहीनजिक आउँदा उनलाई गिट्टी किन्न आएको हो कि ? भन्ने लाग्छ तर ग्राहक नभएको थाहा पाएपछि उनि निराश बन्छिन् । गिट्टीको थुप्रो हेर्दै लामो सास फेर्नु हुन्छ । दुई वर्षअघि श्रीमान् गोरखराज शाही जेल परे । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दुगाउँमा सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा उनि जेलमा छन्। श्रीमान् जेलमा परेपछि ३५ वर्षीय चुनमतीको दैनिकी गिट्टी कुटेर बित्ने गरेको छ । गिट्टी नकुटे उनको चुलो बल्दैन ।

गत भदौदेखि उनि जुम्लाको चन्दननाथ नगरपालिका–४, सिङ्गाचौरमा अर्काको घरमा भाडामा बस्छिन् । गाउँमा हुँदा उनलाई केही कमी थिएन । घर थियो, अन्न बिक्री हुन्थ्यो, छोराछोरी स्कुल जान्थे तर श्रीमान् जेल परेपछि सबै सपना चकनाचुर भएको उनले पिडा सुनाइन् । नौ महिनादेखि उनि तीन जनाको परिवारसहित जुम्लामा बस्दै आएकि छन् । उनले भनिन्, मेरो छोरा लक्की पाँच वर्षको छ, छोरी खुसी ११ वर्षकी छिन् । स्कुल जान पाएका छैनन् । मलाई ढुङ्गा ल्याउन सघाउँछन् । अरूका छोराछोरी अक्षर चिन्छन्, मेरा ढुङ्गा गन्छन् । उनले भनिन्, शरीर कमजोर छ, ज्यान पनि सन्चो छैन । गिट्टी कुट्न खोज्छु तर सकिँदैन । भाग्य फुटेपछि गिट्टी पनि फुट्दैन । साना छोराछोरीको खर्च जुटाउने जिम्मा उनकै काँधमा छ । धेरै गिट्टी कुट्न नसक्दा छाक टार्न चुनमतीलाई मुस्किल छ । जुम्लामा गिट्टी प्रतिट्याक्टर चार हजारमा बिक्री हुन्छ ।

Next Post

कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवद्र्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने :मन्त्री गुरुङ

२९ बैशाख २०८२, सोमबार ०९:०१
सुर्खेत । सोमबार नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्युरो कार्यालय र खस भाषाको समाचार बुलेटिन उद्घाटन गर्दै मन्त्री गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवद्र्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् । विविध भाषा र संस्कृतिको प्रसारणले राष्ट्रिय एकता र सहिष्णुता मजबुत हुने विश्वास व्यक्त गर्दै उहाले आगामी बजेटमा […]