‘डिजिटल कर्णाली ’ निर्माणसँगै शिक्षा र संस्कृतिको संरक्षणमा सरकारको जोड : मन्त्री खड्का

  ।   १६ आश्विन २०८३, शुक्रबार ०९:५०

रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले रुकुमको भाषा, धर्म, संस्कृति र विविधताको संरक्षणसँगै शिक्षा र प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएकी छन्।

शुक्रबार मुसिकोट नगरपालिका–५ स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालयले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खड्काले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको देश भएकाले यस्ता मौलिक पहिचानलाई संस्थागत रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताइन्।

रुकुम पनि विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध जिल्ला भएको उल्लेख गर्दै उनले स्थानीय संस्कृति र पहिचानलाई संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सकिने बताइन्।

विद्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेखित विद्यार्थी संख्या, शिक्षक दरबन्दी, विषयगत शिक्षकको अभाव, महिला शिक्षकको अवस्था तथा भौतिक पूर्वाधारलगायतका विषयप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्री खड्काले बताइन्। विद्यार्थी संख्याको अनुपातमा पर्याप्त शिक्षक दरबन्दी नहुँदा शिक्षाको गुणस्तर सुधारमा चुनौती रहेको भन्दै आवश्यक विषयमा सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्।

मन्त्री खड्काले आफू रुकुमको जन्मभूमिप्रति विशेष जिम्मेवारी महसुस गर्ने बताउँदै रुकुमसँगै समग्र कर्णालीको शिक्षा, स्वास्थ्य, पूर्वाधार र विकासलाई मूलधारमा ल्याउन सरकार प्रतिबद्ध रहेको धारणा राखिन्।

उनले आगामी निर्वाचनअघिको बाँकी कार्यकालमा यसअघि निर्माण भएको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार केन्द्रित रहेको बताउँदै विद्यालयले उठाएका समस्या समाधानका लागि समेत आफ्नो तहबाट आवश्यक पहल गर्ने बताइन्।

विद्यालय ज्ञान, विज्ञान, क्षमता र दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्र भएको उल्लेख गर्दै मन्त्री खड्काले अब शिक्षा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई विस्तार गर्नुपर्नेमा जोड दिइन्। “डिजिटल रुकुम” हुँदै “डिजिटल कर्णाली” निर्माणको अवधारणालाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो।

यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई पनि डिजिटल शिक्षाको नमुना विद्यालयका रूपमा विकास गर्न आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता मन्त्री खड्काले जनाइन्।

मन्त्री खड्काले महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने पुरानो सोच परिवर्तन हुँदै गएको बताउँदै राज्यका विभिन्न तहमा महिलाको सहभागिता बढिरहेको उल्लेख गरिन्। समावेशीकरणले महिला र पुरुषलाई समान रूपमा अघि बढ्ने वातावरण निर्माण गरेको उनको भनाइ थियो।

विद्यालयले गरेको स्वागत तथा सम्मानप्रति आभार व्यक्त गर्दै मन्त्री खड्काले विद्यालयमा अध्ययन गरेका विद्यार्थी भविष्यमा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेर आफ्नै विद्यालय र समाजको विकासमा योगदान दिनुपर्नेमा समेत जोड दिइन्।

Next Post

विगतका कामको समीक्षा गर्दै उत्पादनमूलक क्षेत्रमा जोड दिन मन्त्री खड्काको निर्देशन

१६ आश्विन २०८३, शुक्रबार ०९:५०
रुकुम पश्चिम । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले शुक्रबार  उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको अनुगमन गर्दै विगतमा भएका कामको समीक्षा र मूल्यांकन गरेर आगामी योजना व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताएकी छन्। कार्यालयको सेवा प्रवाह, सञ्चालन भइरहेका कार्यक्रम, विगतका उपलब्धि तथा […]