सुर्खेतमा कालिकोटका नेपाली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताबीच भेटघाट, संगठन सुदृढीकरण र राष्ट्रिय जागरण अभियानबारे छलफल
सुर्खेत । सुर्खेतमा विभिन्न पेसा, व्यवसाय तथा कामको सिलसिलामा बसोबास गर्दै आएका कालिकोटका नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताबीच भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरिएको छ।

कालिकोटका नेता तथा कार्यकर्ता भिच भएको कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण, समायोजनपछिको सांगठनिक अवस्था, राष्ट्रिय जागरण अभियान तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको हो।
कार्यक्रममा कालिकोट जिल्लाका ८२ वटै वडामा सञ्चालन गरिने पार्टीका गतिविधि, वडा तथा पालिका कमिटीको अवस्था, जिम्मेवारी बाँडफाँट र संगठन विस्तारका विषयमा केन्द्रले निर्धारण गरेको कार्यविधि तथा फर्म्याटअनुसार काम अघि बढाउनेबारे स्पष्ट पारिएको हो ।
कालिकोट – सुर्खेत सम्पर्क मञ्च को समन्वयमा भएको कार्यक्रममा कालिकोट जिल्ला पार्टी संयोजक तुलराज सिम्खाडाले केन्द्रको नीति, निर्देशन र कार्ययोजनाअनुसार वडा, पालिका तथा जिल्ला तहका पार्टी गतिविधिलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो। उहाँले समायोजनपछि वडा तथा पालिका कमिटीलाई थप सक्रिय बनाउँदै संगठनलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले सुर्खेतमा रहेका नेता तथा कार्यकर्तालाई आफ्नो टोल, गाउँ, वडा र पालिकाकेन्द्रित भएर पार्टीका गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभयो। सुर्खेतमा रहे पनि आफ्नो गाउँ र जनतासँगको सम्बन्धलाई निरन्तरता दिँदै संगठन निर्माण, जनसम्पर्क तथा पार्टीको नीति, विचार र कार्यक्रमको प्रचारप्रसारमा योगदान पुर्याउनुपर्ने उहाँको भनाइ छ ।
त्यसैगरी, नेता तथा कार्यकर्तालाई आफ्नो गाउँ फर्किएर संगठन विस्तार र राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन परिचालित हुन आग्रह गरिएको छ। अभियानलाई सफल बनाउन कालिकोट–सुर्खेत सम्पर्क मञ्चले पूर्ण सक्रियताका साथ समन्वय, सम्पर्क र परिचालनको भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिइएको छ।
सुर्खेतमा रहेका कालिकोटेली नेता तथा कार्यकर्तालाई आफ्नो भूगोल, टोल र वडासँग जोड्दै पार्टी संगठनलाई थप मजबुत बनाउने, समायोजनपछिका कमिटीलाई व्यवस्थित गर्ने र केन्द्रको कार्ययोजनालाई स्थानीय तहसम्म कार्यान्वयनमा लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।






