अपडेट

कर्णालीका आर्थिकमन्त्री शाहमाथि गम्भीर वित्तीय दुरुपयोगको आरोप

  ।   ११ श्रावण २०८२, आईतवार २१:२६


सुर्खेत /  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहमाथि नेपाल एथलेटिक्स संघको कोष दुरुपयोग गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका छ सदस्यले शाहले अध्यक्ष पदमा रहँदा संघको रकम आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएका हुन्।

संघका महासचिव धनवीर चौधरीका अनुसार १६औँ एसियन क्रस-कन्ट्री दौड प्रतियोगितामा एसियन एथलेटिक्स संघबाट प्राप्त १८ हजार अमेरिकी डलर मन्त्री शाहले मनपरी ढंगले खर्च गरेका थिए। चौधरीले थप आरोप लगाउँदै भने, “शाहले विदेशी भुक्तानी डलरमै गरेर राजस्व छली गरेका छन्, साथै प्रतियोगितामा प्रयोग भएका केही सामग्री पनि आफ्नै घरमा राखेका छन्।”

त्यस्तै, सो प्रतियोगितामा सहभागी ९० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकलाई अहिलेसम्म पारिश्रमिक नदिइएको आरोप पनि छ। संघका केन्द्रीय सदस्य दीपक राणाभाटले विश्व एथलेटिक्सका संस्थापक अध्यक्ष आगरिक सजेर्यको नेपाल भ्रमणका क्रममा भूकम्प पीडितका लागि प्रदान गरिएको ३ हजार पाउन्ड सहयोग रकम पनि शाहले व्यक्तिगत रूपमा राखेको र अहिलेसम्म त्यसको विवरण सार्वजनिक नगरेको दाबी गरे।

संघका अर्का सदस्य तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का पूर्व सदस्यसचिव सूर्यलाल भण्डारीले २०७९ सालमा चितवनमा आयोजित जुनियर एथलेटिक्स प्रतियोगितामा समेत शाहले रकम हिनामिना गरेको आरोप लगाए। उनले बताए अनुसार बागमती प्रदेश खेलकुद विकास परिषद् र माडी नगरपालिकाले सहयोग गरे पनि शाहले विदेशी संस्थाबाट प्राप्त सहयोग भन्दै एसियन तथा विश्व एथलेटिक्स संघमा झूठो प्रतिवेदन पेश गरेका थिए।

भण्डारीका अनुसार, मन्त्री शाहविरुद्ध प्रस्तुत गरिएका सबै आरोपका प्रमाण उनीहरूसँग सुरक्षित छन्। “यदि शाहले यी आरोप असत्य भएको दाबी गर्नुभयो भने, हामी प्रमाण सार्वजनिक गर्न तयार छौं,” उनले स्पष्ट पारे।

यस प्रकरणले प्रदेशस्तरीय खेलकुद संघहरूमा वित्तीय पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।


Next Post

जुम्लामा ट्याक्टर दुर्घटनास् एक गम्भीर घाइते

११ श्रावण २०८२, आईतवार २१:२६
सुर्खेत । जुम्लामा ट्याक्टरबाट खसेर एक व्यक्ति गम्भीर घाइते भएका छन्। आज दिउँसो करिब २ः३० बजे तिला खोलाले बगाएर ल्याएर संकलन गरिएका काठहरू लोड गरि फर्कने क्रममा दुर्घटना हुदा घाइते भएका हुन् । क.१.त .१२ नम्बरको ट्याक्टरमा काठहरू लोड गरी डिभिजन वन कार्यालय, जुम्लातर्फ ल्याउने क्रममा उक्त दुर्घटना भएको हो […]