सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाबाट सिकार खेल्न गएका पाँच जना व्यक्ति सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये एक जनाको मृत्यु भएको हुन सक्ने सूचना प्राप्त भएपछि प्रहरीले व्यापक खोजी अभियान सुरु गरेको छ।
बराहताल गाउँपालिका–२ निवासी आसे महतराका अनुसार उनका साला नाता पर्ने ३३ वर्षीय टोपबहादुर खत्रीसहित पाँच जना फागुन २३ गते घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ सिकार खेल्न गएका थिए। त्यसयता उनीहरू परिवार र आफन्तसँग सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
घटना भएको अनुमान गरिएको स्थान बराहतालबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने भएकाले सुर्खेत प्रहरीले जिल्ला प्रहरी कार्यालय बर्दियासँग पनि समन्वय गरी खोजतलासलाई तीव्र बनाएको छ। घटनाबारे अनुसन्धानसमेत सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिहरूमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ति र ३० वर्षीय सुनिल समसेली रहेका छन्। त्यस्तै सुर्खेतको लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गा बहादुर सिजाली पनि सम्पर्कविहीन रहेका छन्।
प्रहरीका अनुसार जंगल क्षेत्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ। स्थानीय बासिन्दा, प्रहरी र निकुञ्ज सुरक्षाकर्मीको सहयोगमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।







