उद्योग सञ्चालन, पर्यटन दशकको कार्यान्वयन र दसौँ राष्ट्रिय खेलकुदलाई प्रभावकारी बनाउन समन्वय
सुर्खेत । कर्णाली प्रदेशको औद्योगिक विकास, पर्यटन प्रवर्द्धन तथा खेलकुद क्षेत्रको सुदृढीकरणका लागि प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले संघीय सरकारसँग समन्वय र सहकार्यको पहल अघि बढाउनुभएको छ।
कर्णालीका विकासका सम्भावनालाई व्यवहारमा उतार्ने र प्रदेशमा देखिएका समस्या समाधानका लागि संघीय सरकारको सहयोग जुटाउने उद्देश्यसहित मन्त्री खड्काले बुधबार काठमाडौंमा संघीय सरकारका तीन मन्त्रीसँग भेटघाट तथा छलफल गर्नुभएको हो।
मन्त्री खड्काले पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेटघाट गर्दै कर्णालीको उद्योग, पर्यटन, सडक पूर्वाधार र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित विषयमा छलफल गर्नुभएको जनाइएको छ।
मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक संघीय राजधानी काठमाडौं पुग्नुभएकी खड्काले कर्णालीका आवश्यकता र प्राथमिकताका विषय सम्बन्धित मन्त्रालयसमक्ष राख्दै प्रदेशको समग्र विकासका लागि संघीय सरकारसँग सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ।
उद्योग सञ्चालन र स्थानीय उत्पादनको बजारीकरणमा जोड
मन्त्री खड्काले कर्णालीमा उपलब्ध प्राकृतिक स्रोतसाधन, कच्चा पदार्थ, स्थानीय सीप र जनशक्तिको अधिकतम उपयोग गर्दै साना, घरेलु तथा ठूला उद्योगलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषय उठाउनुभएको छ।
कर्णालीमा उद्योग स्थापना गर्नु मात्रै पर्याप्त नहुने भन्दै सञ्चालनमा रहेका उद्योगलाई निरन्तरता दिने, उत्पादन क्षमता बढाउने, स्थानीय कच्चा पदार्थको प्रशोधन गर्ने र उत्पादित वस्तुलाई बजारसम्म पुर्याउने वातावरण निर्माण गर्नुपर्ने उहाँको जोड छ।
स्थानीय स्रोतसाधनमा आधारित उद्योगको विकासले रोजगारी सिर्जना, आयआर्जन वृद्धि र प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउन सक्ने भएकाले उद्योग सञ्चालनमा देखिएका समस्या समाधान गर्न नीतिगत सहजीकरण, आवश्यक पूर्वाधार र लगानीमैत्री वातावरण निर्माणमा संघीय सरकारसँग समन्वय आवश्यक रहेको मन्त्री खड्काले औँल्याउनुभएको छ।
पर्यटन दशक सफल बनाउन सडक पूर्वाधार प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले अघि सारेको पर्यटन दशकलाई प्रभावकारी बनाउन पर्यटकीय गन्तव्यसम्म सहज पहुँच विस्तार गर्नुपर्ने विषयमा पनि मन्त्री खड्काले संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
रारा ताल, शे–फोक्सुण्डो ताल, लिमीलाप्चालगायत कर्णालीका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न सडक सञ्जालको विस्तार, स्तरोन्नति र आवश्यक पर्यटकीय पूर्वाधार निर्माण अपरिहार्य रहेको उहाँको जोड छ।
कर्णाली करिडोर, भेरी करिडोर तथा अन्य प्रमुख सडकको स्तरोन्नतिसँगै पर्यटकीय गन्तव्यसम्म पुग्ने सहायक सडकको विकासलाई प्राथमिकता दिनुपर्ने विषयमा पूर्वाधार विकास तथा पर्यटन क्षेत्रसँग सम्बन्धित मन्त्रालयसँग समन्वय गरिएको जनाइएको छ।
पर्यटन दशकलाई प्रचारप्रसारमा मात्र सीमित नराखी यातायात, आवास, पर्यटक सूचना, स्थानीय उत्पादनको बजारीकरण र आवश्यक सेवासुविधाको विकाससँग जोड्न सके कर्णालीमा पर्यटकको आगमन बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ।
दसौँ राष्ट्रिय खेलकुदका लागि सहकार्यको पहल
मन्त्री खड्काले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक पूर्वाधार, व्यवस्थापकीय तयारी तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वयको विषय पनि युवा तथा खेलकुदमन्त्रीसँगको भेटमा उठाउनुभएको छ।
राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता कर्णालीको पहिचान स्थापित गर्ने, खेल प्रतिभाको प्रवर्द्धन गर्ने र प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्ने महत्त्वपूर्ण अवसर भएकाले यसको सफल व्यवस्थापनमा संघीय र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको उहाँको जोड छ।
खेलकुद प्रतियोगितालाई पर्यटन प्रवर्द्धनसँग जोडेर कर्णालीका प्राकृतिक गन्तव्य, मौलिक संस्कृति, कला र स्थानीय उत्पादनको प्रचारप्रसार गर्न सकिने सम्भावनासमेत रहेको छ। यसले खेलकुदसँगै पर्यटन, होटल, यातायात र स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कर्णालीका प्राथमिकता संघीय सरकारसमक्ष पुर्याउने प्रयास
कर्णालीको भौगोलिक विकटता, कमजोर सडक पहुँच, उद्योग सञ्चालनमा देखिएका चुनौती र पर्यटन पूर्वाधारको सीमिततालाई सम्बोधन गर्न संघीय सरकारको सहयोग महत्त्वपूर्ण मानिन्छ। प्रदेशका आवश्यकता र प्राथमिकताअनुसार योजना निर्माण तथा कार्यान्वयनमा सहकार्य हुन सके कर्णालीको विकासले गति लिन सक्ने विश्वास गरिएको छ।
मन्त्री खड्काको संघिय सरकारका सम्बन्धित मन्त्रालयका मन्त्रि सँगको भेटघाटलाई कर्णालीका विकासका सवाल संघीय सरकारसमक्ष पुर्याउने र सम्बन्धित मन्त्रालयसँग समन्वय अघि बढाउने पहलका रूपमा अघि बढ्रने विश्वास गरीयको छ ।






