जातीयताको नाममा भ्रम नफैलाउन विष्णु विश्वकर्माको आग्रह

  ।   २९ माघ २०८२, बिहीबार १४:२५

कालिकोट । राष्ट्रियसभा सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीका नेता विष्णु बहादुर विश्वकर्माले चुनावी माहोलमा जातीयता र क्षेत्रीयताको नाममा भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्।

मंगलबार कालिकोटको रास्कोटमा दलित मुक्ति मोर्चा कालिकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विप्लव नेतृत्वको नेकपा माओवादी) का नेता खड्ग बहादुर विश्वकर्मातर्फ संकेत गर्दै यस्तो आरोप लगाएका हुन्।

प्रतिनिधिसभा सदस्यका लागि कालिकोटबाट उम्मेदवार बनेका विष्णु विश्वकर्माले आफ्नो मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीसँग हुने दाबी गरे। उनले विप्लव नेतृत्वको पार्टीसँग राजनीतिक प्रतिस्पर्धा सम्भव नरहेको टिप्पणी गरे।

अघिल्लो स्थानीय तह निर्वाचनको परिणामले नै उक्त पार्टीको राजनीतिक अवस्था स्पष्ट पारेको उल्लेख गर्दै उनले भने, “जिल्लाभर उम्मेदवारी दिँदा पनि एक जना सदस्य जित्न नसक्ने पार्टीले अहिले प्रतिनिधिसभा चुनाव जित्ने दाबी गर्नु यथार्थपरक देखिँदैन।”

उनले विगतमा १२ वर्षसम्म सशस्त्र संघर्षमा रहेको समूह अहिले संसदीय राजनीतिमा आएको उल्लेख गर्दै जनसमर्थन र विश्वास चुनावी परिणामबाट प्रमाणित हुने बताए। सानो राजनीतिक आधार हुँदाहुँदै ठूलो हल्ला गरेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप थियो।

“कतै जातीयता त कतै क्षेत्रीयताको नाममा भ्रम फैलाउने काम भइरहेको छ,” उनले भने, “मुक्ति र परिवर्तन जातीय वा क्षेत्रीय द्वन्द्वबाट सम्भव हुँदैन, राष्ट्रिय एकता र साझा उद्देश्यबाट मात्र सम्भव हुन्छ।” विश्वकर्माले जनतालाई भ्रममा नपरी विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका थिए।

सम्बन्धित शीर्षक