अपडेट

चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रशासनको आग्रह, लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाइने

  ।   २७ आश्विन २०८३, मंगलवार १६:५२

 

सुर्खेत । नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन कर्णाली प्रदेशका सुरक्षा निकाय तथा प्रशासनले नागरिकलाई आग्रह गरेका छन्। चाडपर्वको समयमा चोरी, झैझगडा, गुण्डागर्दी, लागुऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानी बढाइएको उनीहरूले बताएका छन्।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुखले चाडपर्वलाई उल्लासमय र सुरक्षित बनाउन प्रहरी नागरिकसँगै रहेर काम गर्ने बताउनुभयो। उहाँले नागरिकले ढुक्कसँग चाडपर्व मनाउने वातावरण निर्माण गर्न प्रहरी सक्रिय रहने उल्लेख गर्दै घरपरिवार तथा समुदायमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नुभयो।

उहाँले प्रहरीबाट सेवा प्रवाहका क्रममा कुनै कमी कमजोरी वा अमर्यादित गतिविधि भएमा सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गर्नुभयो। नागरिकबाट प्राप्त तथ्यपरक सूचनाका आधारमा कमजोरी सच्याउँदै प्रहरी सेवालाई थप प्रभावकारी बनाइने उहाँको भनाइ थियो।

कार्यक्रममा राजमार्ग ट्राफिक प्रमुख प्रसाद रिजालले सुरक्षित यात्रा र सुरक्षित जीवनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँका अनुसार चाडपर्व लक्षित सवारी जाँचलाई तीव्र बनाइएको छ। विभिन्न स्थानमा राति २ बजेसम्म चेकजाँच गर्दै चालकले मादक पदार्थ सेवन गरे–नगरेको, सवारी चालक अनुमतिपत्र भए–नभएको र सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको परीक्षण भइरहेको छ।

रिजालले यात्रुलाई तोकिएकोभन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा असुरक्षित यात्रा गराउने गतिविधि भएमा नजिकैको प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो। यातायात व्यवसायी र यात्रु सबै जिम्मेवार भएमा दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो।

त्यसैगरी, सुर्खेतका प्रमुख जिल्ला अधिकारीले कर्णालीमा लागुऔषध दुर्व्यसन र सवारी दुर्घटना गम्भीर चुनौतीका रूपमा देखिएको बताउनुभयो। उहाँले लागुऔषध नियन्त्रणको अभियान आफ्नै घरपरिवारबाट सुरु गर्नुपर्नेमा जोड दिँदै दुर्व्यसनविरुद्ध जनचेतनासँगै कानुनको कडा कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो।

लागुऔषध नियन्त्रणका लागि विशेष कार्यदल, पर्याप्त बजेट र आवश्यक उपकरणसहित कर्णाली केन्द्रित कार्यक्रम सञ्चालन गर्न गृह मन्त्रालयमा समेत प्रस्ताव राखिएको उहाँले जानकारी दिनुभयो। लागुऔषध कारोबार तथा दुर्व्यसन नियन्त्रणमा कुनै सम्झौता नगरी शून्य सहनशीलताको नीति अपनाउनुपर्ने उहाँको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारीले मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिमा मोटरसाइकल चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको उल्लेख गर्दै व्यक्तिगत अनुशासन र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो। उहाँले चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन, अरूको अधिकारको सम्मान गर्न तथा कुनै समस्या परेमा तत्काल प्रहरी प्रशासनलाई खबर गर्न नागरिकलाई आग्रह गर्नुभयो।

कार्यक्रममा वक्ताहरूले चाडपर्वलाई आपसी सद्भाव, सामाजिक एकता र खुसी साटासाट गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए। नागरिकको सहयोग र सुरक्षा निकायको सक्रियताबाट मात्रै शान्त, सुरक्षित र समृद्ध कर्णाली निर्माण गर्न सकिने उनीहरूको भनाइ थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले बडादसैँ, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै सबैलाई सुरक्षित, मर्यादित र उल्लासमय रूपमा चाडपर्व मनाउन आग्रह गरेका थिए।

Next Post

काँक्रेविहार वन संरक्षणका लागि तीनवटा समिति गठन, कामलाई तीव्रता दिन मन्त्रीको निर्देशन

२७ आश्विन २०८३, मंगलवार १६:५२
सुर्खेत । काँक्रेविहार वन संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले डिभिजन वन कार्यालय सुर्खेतमा भएको बैठकले तीनवटा संरचना गठन गरेको छ। बैठकले २१ सदस्यीय परिषद् जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारको नेतृत्वमा वन संरक्षण परिषद् , वीरेन्द्रनगर नगर प्रमुखको नेतृत्वमा ११ सदस्यीय व्यवस्थापन समिति र डिभिजन वन कार्यालय अधिकृतको नेतृत्वमा […]

सम्बन्धित शीर्षक