कालिकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको संयुक्त आयोजनामा लागू औषध दुरुपयोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा आज सम्पन्न भएको छ।
कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूसँग लागू औषधको बढ्दो प्रभाव, यसको सामाजिक तथा मानसिक असर, र युवाहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
तेस्तै कर्णाली जेसिज वर्ष २०२५ का अध्यक्ष तथा तिला कर्णाली बहुमुखी क्याम्पसका स्ववियु सचिव खगेन्द्र पाण्डेले युवाहरूले लागू औषधबाट टाढा रहँदै समाजमा सकारात्मक ऊर्जा फैलाउनुपर्नेमा जोड दिए। उनले भने – “लागू औषध केवल व्यक्तिगत जीवन होइन, परिवार र समाजको भविष्यलाई पनि नष्ट गर्ने विष हो। युवाहरूले आफू सचेत रहँदै अरूलाई सचेत गराउने जिम्मेवारी लिनुपर्छ।”
जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूले पनि विद्यार्थीहरूलाई लागू औषधको कानुनी र स्वास्थ्यसम्बन्धी प्रभावबारे जानकारी गराउँदै सशक्त सन्देश दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले प्रश्न–उत्तर सत्रमार्फत आफ्ना जिज्ञासाहरू राखेका थिए। उपस्थित सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले युवाहरूमा सकारात्मक सोच र जिम्मेवार व्यवहार विकास गर्न मद्दत पुग्ने बताएका छन्।








