रतन बहादुर रावल,
मुगु । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका–८, चुगा गाउँका आगलागी पीडित देवीलाल बि.क. (परियार) लाई विदेशबाट आर्थिक सहयोग आउने क्रम बढ्दो छ। हाल कतारस्थित डेल्टा कर्पोरेशन कम्पनीमा कार्यरत समाजसेवी कृष्ण रावलले पीडित बि.क.लाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन।
गत कार्तिक २१ गते राति देवीलाल बिकको घरमा भएको भीषण आगलागीले उनको घर, लत्ताकपडा, खाद्यान्नसहित सबै सम्पत्ति जलेर नष्ट भएको थियो। उक्त घटना सार्वजनिक भएपछि विभिन्न देशमा रहेका मुगुवासीहरूले सहयोग अभियान थालेका हुन्।
कतारबाट सहयोग रकम पठाउँदै कृष्ण रावलले भने — “देश बाहिर भए पनि आफ्नो गाउँघरको पीडा हाम्रो साझा हो। विपत्तिमा परेकालाई सानो सहयोगले पनि ठूलो राहत मिल्छ भन्ने सोचले मैले यो सानो योगदान गरेको हुँ।”
उता जापानमा रहेका विकास रावल र कतारमै रहेका राजन रावलले पनि निकट भविष्यमै थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
छाँयानाथ रारा नगरपालिकाले पनि पीडित बिक परिवारलाई खाद्यान्न, लत्ता–कपडा र त्रिपाल वितरण गरेको जनाएको छ। नगर प्रमुखले थप आर्थिक सहयोगको व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
पीडित देवीलाल बि.क .लामो समयदेखि दम रोगले ग्रसित छन्। घर जलेर नष्ट भएपछि स्वास्थ्य उपचार र बासस्थानको समस्या थपिएको उनले बताए।
बि.क.ले भावुक हुँदै भने — “घर जलेर सबै कुरा सकियो, अब के गर्ने भन्ने चिन्ताले रातदिन निद्रा छैन। समाज र विदेशमा रहेका साथीहरूले सम्झेर सहयोग गर्नुभएकोमा मनदेखि धन्यबाद।”
स्थानीयवासीहरूले यस्ता सहयोगले पीडित परिवारमा आशा जगाएको बताएका छन्।







