सुर्खेत । कर्णाली प्रदेशका आठ जिल्लामा १९ वटा रुग्ण आयोजना रहेको पाइएको छ । तीमध्ये केही आयोजनाको भौतिक प्रगति शून्य रहेको छ भने केहीको प्रगति न्यून रहेको मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनाको समस्या समाधान गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायी र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आयोजित रुग्ण आयोजना समीक्षा तथा समस्या समाधानसम्बन्धी छलफलमा मन्त्री रोकाले विकास निर्माणका काममा देखिएका अवरोध पहिचान गरी समयमै समाधान गर्नुपर्ने बताउनुभयो । निर्माण व्यवसायीका वास्तविक समस्या समाधान गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै उहाँले काम सम्पन्न गर्न देखिएका कठिनाइबारे सम्बन्धित कार्यालय र मन्त्रालयमा स्पष्ट छलफल गर्न आग्रह गर्नुभयो ।
मन्त्री रोकाले काम गर्ने प्रतिबद्धता जनाउने तर कार्यप्रगति नदेखाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । आवश्यक सहजीकरण गर्दा पनि काम अघि नबढाउने निर्माण व्यवसायीलाई निरन्तर छुट दिन नसकिने उहाँको भनाइ थियो ।
त्यस्तै, प्रदेश सचिव अर्जुनकुमार बमले पटकपटक म्याद थप गर्दा पनि काम नगर्ने निर्माण व्यवसायीमाथि कानुनबमोजिम प्रक्रिया अघि बढाइने बताउनुभयो । जिम्मेवारी पूरा नगर्ने कार्यालय प्रमुखका विषयमा पनि मन्त्रालय गम्भीर रहेको उहाँले उल्लेख गर्नुभयो ।
छलफलमा निर्माण व्यवसायीले कर्णालीको कठिन भूगोलका कारण निर्माण कार्यमा ढिलाइ भएको भन्दै आयोजनाको म्याद थप गर्न माग गरेका थिए । बैठकमा रोकिएका, बहुवर्षीय तथा विभिन्न कारणले ढिलाइ भएका आयोजनाको अवस्था समीक्षा गर्दै समस्या समाधान र निर्माण सम्पन्न गर्ने समयसीमाबारे छलफल भएको थियो ।
मन्त्री रोकाले सार्वजनिक स्रोतको सदुपयोग गर्दै आयोजनाबाट नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।







