जुम्ला । जिल्लाको गुठिचौर गाउँपालिकामा रहेको सुन्दर पर्यटकीय क्षेत्र गुठिचौरमा सातौं जुम्ली घोडा दौड प्रतियोगिता हुने भएको छ । जुम्लाको परम्परागत सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै उक्त घोडा दौड प्रतियोगिता हुने भएको हो ।
प्रत्येक वर्ष विजयादशमी तथा शुभ दिपावलीको अवसर पारेर दशैंको आठौं दिन फुलपातीको दिन उक्त घोडा दौड प्रतियोगिता हुँदै आइरहेको छ ।
घोडा दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्नको लागि हालसम्म ३० भन्दा बढी घोडा दौड प्रतियोगितामा भाग लिन सम्पर्कमा आइसकेकोु कर्णाली स्पोर्ट्स क्लब जुम्लाका उपाध्यक्ष नवीन थापाले बताउनुभयो । फुलपातीसम्म अनुमानित ६० देखि ७० घोडाहरु घोडा दौडको लागि प्रतियोगिताआउने अनुमान गरिएको उनको भनाइ छ ।
उक्त जुम्ली घोडा दौडको पुरस्कार राशी प्रथम हुनेलाई रू।पन्ध्र हजार द्वितीय हुनेलाई रू।दश हजार र तृतीय हुनेलाई रू।पाँच हजार र अन्य प्रतिस्पर्धामा भाग लिने घोडालाई दाना र सन्तोषजनक हुनेगरी विशेष पुरस्कारको व्यवस्था हुने थापाले जानकारी दिनुभयो ।
उक्त आयोजना गुठिचौर युवा क्लब र खेलकुद क्लब जुम्लाको संयुक्त आयोजनामा हुन लागेको हो । साथै आयोजनाको लागि आर्थिक सहयोग गुठिचौर गाउँपालिकाले रु।एक लाख सहयोग गर्ने भएको छ भने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले पनि केही सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
सातौं जुम्ली घोडा दौड प्रतियोगिताको पुरस्कारको व्यवस्था कर्णाली स्पोर्ट्स क्लब र हरि रोकाया फाउन्डेसनले गर्ने छ । गत वर्षहरूमा सदरमुकाममा हुँदै आएको उक्त प्रतियोगिता सातौं संस्करण भने गुठिचौरमा गरिने भएको छ । आयोजकका अनुसार सदरमुकाम मात्र लक्ष्यित भएर हुँदैन समग्र जुम्लाको सांस्कृतिक पक्षमा भएको यो प्रतियोगिता जिल्लाका जुनसुकै स्थानमा पनि गर्न सकिने ठहर छ ।