सुर्खेत । सुर्खेत महिला जेसीज ले वर्ष २०२६ को आयोजनामा सञ्चालन हुन लागेको सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिन आज २०८३ साल जेठ १४ गते पत्रकार सम्मेलन सम्पन्न गरेको छ। जेठ १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने कार्यक्रमका उद्देश्य, गतिविधि तथा आगामी योजनाबारे जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

कार्यक्रम सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनु सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थापक महासचिव तथा वर्ष २०१३ की अध्यक्ष जेसी ज्योति कार्की पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको हो।
पत्रकार सम्मेलनमा वर्ष २०२३ की अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२४ की राष्ट्रिय उपाध्यक्ष सीता भण्डारी, वर्ष २०१५ की अध्यक्ष जेसी सुस्मा गिरी, वर्ष २०१८ की अध्यक्ष जेसी कृति गुभाजु शाक्य, वर्ष २०२० की अध्यक्ष जेसी प्रमी शाक्य लगायत सुर्खेत महिला जेसीजका बोर्ड पदाधिकारी, सदस्य तथा सुर्खेतस्थित सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको हो।
सम्मेलनमा बोल्दै अध्यक्ष मनु सुनारले सप्ताहव्यापी कार्यक्रममार्फत महिला नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, युवाको सहभागिता तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताउनुभयो। कार्यक्रमअन्तर्गत सामाजिक सचेतना, रक्तदान , स्वास्थ्य शिविर नेतृत्व विकास, सम्मान कार्यक्रम, अन्तरक्रिया तथा विविध जनमुखी गतिविधि सञ्चालन गरिने जानकारी दिइएको छ ।
प्रमुख अतिथि ज्योति कार्की पौडेलले सुर्खेत महिला जेसीजले समाज रूपान्तरण, महिला सशक्तीकरण तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी विभिन्न पूर्व अध्यक्षहरूले र पत्रकारहरुले संस्थाको निरन्तर सक्रियता र सामाजिक योगदानको प्रशंसा गर्दै सप्ताहव्यापी कार्यक्रम सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताको आवश्यकता औंल्याएका हुन।
पत्रकार सम्मेलनको सञ्चालन सुर्खेत महिला जेसिज वर्ष २०२६ महासचिव भावना रानाले गरेकी हुन । सप्ताहव्यापी कार्यक्रमलाई भव्य तथा प्रभावकारी रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।






