सल्यान / आगलागीबाट ७ वटा घरगोठ जलेर नष्ट भएका छन। सल्यानको छत्रेश्वरी गाउँपालिका ५ दियारगाउँ नजिकै रहेको महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा अहिलेसम्म ७ वटा कच्ची घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
छत्रेश्वरी गाउँपालिका ५ दियारगाउँका थल बहादुर घर्ती, मोहन वली, टोकाराम वली, प्रेम वली, धनबहादुर घर्ती, शेर बहादुर वली र खुमबहादुर वलीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताएका छन।
आगो आज दिउँसो करिब १ बजेबाट लागेको हो। आगलागीको खबर लगत्तै प्रहरी चौकि भोटेचौर र इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरी टोलि र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको डिएसपी कार्कीले बताएका छन।