कालिकोट । खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालय मा विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन भएको छ।
नवगठित समितिको अध्यक्षमा बिर्खसिंह विश्वकर्मा चयन हुनुभएको छ भने सदस्यहरूमा गायत्रा शाही, दमनबहादुर शाही र निर्मला संज्याल (बराल) रहनुभएको विद्यालयले जनाएको छ।
नवनिर्वाचित पदाधिकारीहरूलाई अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, अनुशासित शैक्षिक वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणमा समितिले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यस अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा गणेश बहादुर शाही ले विद्यालयको विकास र शैक्षिक सुधारमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै सम्मान व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष विश्वकर्माले विद्यालयको समग्र विकासलाई प्राथमिकतामा राख्दै अभिभावक, शिक्षक, विद्यार्थी र समुदायसँग सहकार्य गरेर विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय परिवारले नवगठित समितिको नेतृत्वमा पञ्चदेव माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा, सुशासन र उत्कृष्ट नतिजाका क्षेत्रमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ।






