सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा० को हालै गरिएको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि देखिएको छ। विशेषगरी साबिक नेकपा (एकीकृत समाजवादी) का नेताहरूले नेतृत्व चयन र जिम्मेवारी बाँडफाँटको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।
साबिक एकीकृत समाजवादीका जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले उक्त विषयमा छलफल गर्न साबिक जिल्ला कमिटीको छुट्टै बैठक आह्वान गरेका छन्।
गाउँलेका अनुसार साबिक एकीकृत समाजवादीको नेतृत्व टुङ्ग्याउँदा अधिकांश जिल्लामा इन्चार्ज पाएको ठाउँमा साबिक पार्टी इन्चार्ज र संयोजक पाएको ठाउँमा साबिक जिल्ला अध्यक्ष वा संयोजकमध्येबाट जिम्मेवारी दिइएको थियो। तर कालिकोटमा भने जिल्ला अध्यक्षलाई बेवास्ता गर्दै साबिक इन्चार्जलाई संयोजक बनाइएको भन्दै असन्तुष्टि बढेको हो।
उनले नेतृत्व चयनमा स्थापित विधि, मापदण्ड र साबिक कमिटीको संरचनाभन्दा पनि व्यक्तिलाई प्राथमिकता दिएर कार्यविभाजन गरिएको आरोप लगाए।
“कुनै स्पष्ट मापदण्ड नै नटेकी नेतृत्व चयन गर्ने परिपाटी स्वीकार गर्ने कि नगर्ने, र यस्तो प्रवृत्तिलाई वडा तहसम्म विस्तार हुन दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो,” गाउँलेले भने।
उनका अनुसार पार्टीभित्र विधि, प्रक्रिया र संगठनात्मक मर्यादालाई बेवास्ता गरिए कार्यकर्तामा थप असन्तुष्टि बढ्ने भएकाले यस विषयमा गम्भीर समीक्षा आवश्यक रहेको निष्कर्षसहित बैठक बोलाइएको हो।
साबिक समाजवादी पक्षका नेताहरूले कार्यविभाजनमा अपनाइएको मापदण्डबारे पार्टी नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरेका छन्।






