कालिकोट। कालिकोटको तिलागुफा नगरपालिका–३ निवासी ३७ वर्षीय खगेन्द्र न्यौपानेलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। सामाजिक सञ्जालमा एक युवतीको भिडियो सार्वजनिक गरेको आरोपमा परेको जाहेरीका आधारमा काठमाडौं प्रहरी र जिल्ला प्रहरी कार्यालय कालिकोटको संयुक्त टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी बरमा यादवका अनुसार एक युवतीले साइबर अपराधअन्तर्गत जाहेरी दिएपछि न्यौपानेलाई काठमाडौंको डेराबाट नियन्त्रणमा लिइएको हो।
सूचना अधिकारी यादवले जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिँदै आवश्यक कानुनी प्रक्रिया पूरा गरी कालिकोट ल्याउने तयारी भइरहेको बताए।
यादवका अनुसार न्यौपानेले सामाजिक सञ्जालमार्फत ती युवतीको अश्लील भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन्।
प्रहरीले उनलाई काठमाडौंमा पक्राउ गरेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।






