समाज रूपान्तरणमा युवाको भूमिका अपरिहार्य : शाही

  ।   २० आश्विन २०८३, मंगलवार २१:२९

दैलेख । जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले सामाजिक विकृति, विभेद र हिंसा अन्त्य गर्दै समतामूलक समाज निर्माणका लागि युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।

दैलेख सदरमुकाममा मंगलबारदेखि सुरु भएको दुई दिने अन्तरपुस्ता कार्यशालाको उद्घाटन गर्दै शाहीले समाज रूपान्तरण कुनै एक व्यक्ति, संस्था वा पुस्ताको प्रयासबाट मात्र सम्भव नहुने बताए। त्यसका लागि सबै पुस्ता, समुदाय र जिम्मेवार पक्षबीच सहकार्य, संवाद र अनुभव आदानप्रदान आवश्यक रहेको उनको भनाइ थियो।

विभिन्न पुस्ताबीच ज्ञान, सीप र अनुभव आदानप्रदानका लागि अन्तरपुस्ता संवाद महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै शाहीले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सिर्जनशीलतालाई जोड्न सके सामाजिक परिवर्तनको अभियान थप प्रभावकारी बन्न सक्ने बताए।

युवालाई सामाजिक विकृति र कुलतबाट जोगाउँदै सकारात्मक तथा सिर्जनशील अभियानमा जोड्नुपर्नेमा जोड दिँदै उनले युवाको ऊर्जा, क्षमता र प्रतिभालाई सही दिशामा परिचालन गर्नुपर्ने बताए। युवालाई समाजका समस्या हेरेर बस्नेभन्दा समाधान खोज्ने र परिवर्तनको नेतृत्व गर्ने पुस्ताका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

महिला हिंसा, छुवाछूतलगायत सामाजिक विभेद अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउँदै शाहीले समाज परिवर्तन केवल भाषण, नारा र कागजी प्रतिबद्धताबाट सम्भव नहुने धारणा राखे। व्यवहारमै सकारात्मक परिवर्तन ल्याउन सके मात्र सामाजिक न्याय र मानव अधिकारको अभियानले सार्थकता पाउने उनले बताए।

“सामाजिक विकृति र विभेद अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक छ। युवालाई सकारात्मक अभियानमा जोड्दै समाज रूपान्तरणमा उनीहरूको सक्रिय भूमिका बढाउनुपर्छ,” शाहीले भने।

उनले सामाजिक रूपान्तरणका लागि प्रत्येक व्यक्ति र पुस्ताले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए। समाजमा देखिएका समस्या समाधानका लागि अरूको पहलको प्रतीक्षा गर्नुभन्दा आफूले गर्न सक्ने कामबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने उनको धारणा थियो।

शाहीले युवाको सहभागिता केवल कार्यक्रम र अभियानमा उपस्थित हुने विषयमा सीमित नभई निर्णय प्रक्रिया, सामाजिक अभियान र समुदायका समस्या समाधानमा समेत अर्थपूर्ण हुनुपर्ने बताए। युवालाई अवसर, जिम्मेवारी र नेतृत्वको भूमिका दिन सके उनीहरूको क्षमता समाज निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्न सकिने उनले उल्लेख गरे।

अन्तरपुस्ता संवादले पुस्ताबीचको दूरी घटाउने मात्र नभई एक पुस्ताको अनुभव अर्को पुस्तामा हस्तान्तरण गर्ने अवसरसमेत प्रदान गर्ने शाहीले बताए। अनुभव र नयाँ सोचबीचको समन्वयले सामाजिक समस्या समाधानका लागि नयाँ बाटो पहिल्याउन सहयोग पुग्ने उनको भनाइ थियो।

मानव अधिकार, सामाजिक न्याय र समानताको विषयलाई समुदायको दैनिक जीवनसँग जोडेर अघि बढाउनुपर्ने बताउँदै शाहीले सामाजिक विभेद र हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन परिवार, समुदाय, स्थानीय तह, नागरिक समाज र युवाबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे।

मानव अधिकार तथा सामाजिक न्याय अभियानअन्तर्गत एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोग, युवा मानव अधिकार रक्षक सञ्जालको समन्वय तथा रोयम नेपालको आयोजनामा कार्यशाला सञ्चालन भइरहेको हो। ‘सुरक्षाका लागि सञ्चार रणनीति’ विषयमा केन्द्रित कार्यशालामा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन, अधिकार रक्षकको सुरक्षा, युवाको भूमिका र सञ्चार रणनीतिका विषयमा छलफल भइरहेको छ।

कार्यशालामा दैलेख र कालिकोटका जनप्रतिनिधि, सरोकारवाला तथा युवा मानव अधिकार रक्षक गरी २५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यशाला बुधबार सम्पन्न हुनेछ।

Next Post

पहिरो हटेपछि कर्णाली राजमार्गको गगनेखोला सडक सुचारु

२० आश्विन २०८३, मंगलवार २१:२९
कालिकोट । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत गगनेखोलाको सडक पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय, जुम्लाका अनुसार २०८३ असोज २१ गते बिहान ७ बजे पहिरोका कारण अवरुद्ध भएको सडक सोही दिन दिउँसो ३ बजेबाट पूर्ण रूपमा सुचारु भएको हो। सडक सुचारु भएसँगै कर्णाली राजमार्गमा रोकिएका […]