सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) मैत्री बनाउने उद्देश्यले तयार गरिएको मानवीय कार्य तथा विपद् जोखिम न्यूनीकरणका लागि GEDSI प्रोफाइल को मस्यौदामाथि विस्तृत छलफल तथा प्रमाणीकरण प्रक्रिया पहिलो पटक अघि बढाएको छ।

रोयम नेपाल ( ROYM NEPAL) को सहजीकरण तथा UN WEMAN को सहयोगमा सञ्चालित SUPER-II परियोजना अन्तर्गत शुक्रबार आयोजित कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकाल को अध्यक्षतामा नगरका १६ वटै वडाका वडा अध्यक्ष, स्थानीय विपद् व्यवस्थापन समिति (LDMC), स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र (LEOC) , वडा विपद् व्यवस्थापन समिति (WDMC), विषयगत समितिका संयोजक, शाखा प्रमुख, नागरिक समाजका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको हो।

कार्यक्रमको मुख्य उद्देश्य GEDSI प्रोफाइलमा समावेश तथ्याङ्कहरूको प्रमाणीकरण, विश्लेषण तथा परिष्करण गर्दै स्थानीय तहको विपद् व्यवस्थापन प्रणालीलाई अझ समावेशी, उत्तरदायी र प्रमाणमा आधारित बनाउनु रहेको थियो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा विषयगत समितिहरूबाट संकलित तथ्याङ्कको विश्वसनीयता, शुद्धता, पूर्णता तथा स्थानीय वास्तविकतासँगको सान्दर्भिकतामाथि गहन छलफल गरिएको थियो। सहभागीहरूले तथ्याङ्कलाई अझ यथार्थपरक र उपयोगी बनाउन विभिन्न सुझावसमेत प्रस्तुत गरेका थिए।

छलफलका क्रममा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति, आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदाय तथा अन्य सीमान्तकृत समूहहरूको अवस्था, आवश्यकता, जोखिम र क्षमताको विश्लेषणलाई स्थानीय विपद् व्यवस्थापन प्रणालीमा संस्थागत गर्नुपर्ने विषयमा विशेष जोड दिइयो। सहभागीहरूले विपद्का सबै चरण—पूर्वतयारी, प्रतिकार्य, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण—मा GEDSI अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रोफाइल महत्वपूर्ण आधार बन्ने धारणा व्यक्त गरे।

कार्यक्रममा प्रस्तुत गरिएको GEDSI प्रोफाइललाई केवल तथ्याङ्कको संकलन नभई स्थानीय सरकारका नीति, योजना, बजेट तर्जुमा, जलवायु अनुकूलन योजना, सुरक्षित पूर्वाधार निर्माण, सुरक्षित आश्रयस्थल व्यवस्थापन तथा आधारभूत सेवा प्रवाहलाई समावेशी र प्रभावकारी बनाउन मार्गदर्शक दस्तावेजका रूपमा प्रयोग गरिनुपर्नेमा सहभागीहरूको साझा मत रहेको थियो।

कार्यक्रमबाट प्राप्त सुझाव तथा रायहरूलाई समेटेर GEDSI प्रोफाइललाई अन्तिम रूप दिई वीरेन्द्रनगर नगरपालिकाबाट प्रमाणीकरण तथा अनुमोदन गरिने जनाइएको छ। अनुमोदनपछि उक्त प्रोफाइल नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास योजना निर्माण, समावेशी सेवा प्रवाह तथा GEDSI उत्तरदायी स्थानीय शासन प्रणालीलाई संस्थागत गर्न आधारभूत सन्दर्भ दस्तावेजका रूपमा उपयोग गरिनेछ।
SUPER- II परियोजनामार्फत स्थानीय तहमा विपद् व्यवस्थापनका सम्पूर्ण चरणहरूमा GEDSI अवधारणालाई मूलप्रवाहीकरण गर्दै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, विपद् प्रतिकार्यलाई समावेशी बनाउने तथा स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
कार्यक्रमका सहभागीहरूले समावेशी विपद् व्यवस्थापन प्रभावकारी स्थानीय शासनको आधार भएकाले GEDSI प्रोफाइललाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षको सक्रिय समन्वय र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए।







