सुर्खेत । नेपाली कम्युनिष्ट आन्दोलनका युवा नेता तथा महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह ‘भिजन’द्वारा लिखित पुस्तक ‘जनयुद्धको यात्रा – घटना र अनुभूति’ भव्य समारोहका बीच विमोचन गरिएको छ।

वीरेन्द्रनगर, सुर्खेतमा मंसिर २८ गते २०८२ आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको हो।
विमोचन समारोहमा कर्णाली प्रदेशका राजनीतिक नेता, जनप्रतिनिधि, बुद्धिजीवी, साहित्यप्रेमी तथा राजनीतिक कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले ‘जनयुद्धको यात्रा’ पुस्तकले जनयुद्धकालीन संघर्ष, त्याग र परिवर्तनको ऐतिहासिक यात्रालाई अभिलेखमा सुरक्षित गरेको बताउनुभयो। “यो पुस्तक केवल स्मृतिको संग्रह होइन, परिवर्तनका लागि भएका त्याग र बलिदानको दस्तावेज हो,” भन्दै उहाँले नयाँ पुस्तालाई इतिहास बुझ्न र राजनीतिक चेतना विकास गर्न यस कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
सह–संयोजक माधवकुमार नेपालले पुस्तकलाई समसामयिक राजनीति र द्वन्द्व अध्ययनका लागि महत्वपूर्ण दस्तावेजको संज्ञा दिनुभयो। “जनयुद्धको यात्रा राजनीतिक बहसलाई समृद्ध बनाउने गम्भीर कृति हो,” भन्दै उहाँले लेखक सिंहलाई सफल लेखनका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
पुस्तकका लेखक खेमबहादुर सिंह ‘भिजन’ले जनयुद्धको कालखण्डमा आफूले प्रत्यक्ष भोगेका अनुभव, कम ज्ञात घटनाक्रम, राजनीतिक निर्णयका पृष्ठभूमि तथा संघर्षका संवेदनशील क्षणहरूलाई भावनात्मक र तथ्यपरक रूपमा पुस्तकमा समेटिएको बताउनुभयो।
उहाँले भन्नुभयो— “जनयुद्ध केवल राजनीतिक आन्दोलन मात्र थिएन, यो हजारौँ परिवारका आँसु, आशा र बलिदानसँग जोडिएको मानवीय इतिहास हो। त्यो पीडा र अनुभूति पुस्ताले बिर्सिन नदिन यो पुस्तक लेखिएको हो।”
पुस्तक निर्माण टिममा सङ्कलक पूर्णसिंह बम, सम्पादक लक्ष्मण सिंह र खुमबहादुर खड्का रहेका छन् भने पुस्तकको प्रकाशन पलाता सन्देश मल्टी प्रपोज प्रा.लि.ले गरेको हो।
दुई पूर्वप्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न उक्त समारोहले पुस्तकको ऐतिहासिक, राजनीतिक तथा शैक्षिक मूल्यलाई अझ उचाइमा पुर्याएको विश्लेषकहरूको भनाइ छ। ‘जनयुद्धको यात्रा’ समसामयिक राजनीति, द्वन्द्व अध्ययन तथा इतिहास अनुसन्धानमा रुचि राख्ने पाठकहरूका लागि महत्वपूर्ण कृति हुने अपेक्षा गरिएको छ।








