कालिकोट । नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका फोरमेन तथा मर्मत शाखा प्रमुख जय प्रसाद पाण्डे २० वर्षको निरन्तर सेवाप्रति कदर स्वरूप “दीर्घ सेवा पदक” बाट सम्मानित भएका छन्।
शुक्रबार नेपाल विद्युत प्राधिकरण काठमाडौंको आयोजनामा भएको विशेष कार्यक्रममा उर्जा तथा सिँचाइ मन्त्री माननीय दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाण्डेलाई पदक प्रदान गरे।
पाण्डेले २०५९ सालमा नेपाल विद्युत प्राधिकरणमा प्राविधिक सहायकको रूपमा सेवा सुरु गरेका थिए। प्रारम्भिक दिनमा दुर्गम र चुनौतीपूर्ण भौगोलिक अवस्थाहरूमा विद्युत सेवा पुर्याउन रातदिन खटिँदै, हिउँदको कठ्याङ्ग्रिँदो चिसोदेखि वर्षायामको पहिरो र खोला तर्ने जोखिमलाई समेत सामना गरेका उनी स्थानीय समुदायसँग नजिक रहँदै विद्युत मर्मत र विस्तारमा सक्रिय रहे।
उहाँलाई ‘कालिकोटका सक्षम व्यक्ति´ ’ भनेर चिनिन्छ, किनकि कठिन परिस्थिति वा आपत्कालीन अवस्थामासमेत तुरुन्तै मर्मत कार्यमा पुग्ने उहाँको तत्परता र सीपले बत्ती निभेको घरलाई फेरि उज्यालो बनाउन कहिल्यै ढिला भएन। विद्युत सेवा मात्र नभई गाउँ–समुदायमा सहयोगी स्वभावका कारण पनि उहाँ सम्मानित व्यक्तित्व बनेका छन्।
नेपाल विद्युत प्राधिकरणका सहकर्मीहरूका अनुसार पाण्डे निष्ठावान, इमानदार र सेवाभावी स्वभावका प्राविधिक हुन्। यही गुणका कारण २० वर्षको सेवायात्रापछि पाण्डेलाई दीर्घ सेवा पदकबाट सम्मानित गरिएको हो।