रतन रावल
मुगु । हिउँदको समय सुरु भइसके पनि हिमाली जिल्ला मुगुमा अहिलेसम्म हिमपात नहुँदा गाउँबस्तीहरू धुलाम्मे उजाड पहाड जस्तै देखिन थालेका छन्। बिहान–साँझ चिसो बढ्दै गए पनि अपेक्षित हिमपात नहुँदा हिउँदे बालीनाली सुक्दै जान थालेका छन्।

मुगुको छायाँनाथ रारा नगरपालिका–८ झारी गाउँका कृषक रणबहादुर रावलका अनुसार, हिउँदमा लगाइने जौ तथा तरकारी बालीहरू राम्रोसँग उम्रिन नसकी सुक्दै गएका छन्।
“पहिले हिउँ परेपछि हिउँदे बाली बाँच्ने आशा हुन्थ्यो, तर यसपालि त लगाएको बाली पनि जोगिएन, अब हिउँदे खेतीप्रति नै आश मरेको जस्तै भएको छ,” रावलले दुखेसो पोख्नुभयो।
स्थानीय बासिन्दाका अनुसार अघिल्ला वर्षहरूमा मंसिरको दोस्रो वा तेस्रो हप्तातिर हिमपात हुने गर्थ्यो। हिमपात भएपछि खेतबारीमा चिस्यान बढ्ने र पाटन तथा वन आसपास घाँस उम्रिने भएकाले भेडा, बाख्रा र गाईवस्तु पाल्न सहज हुन्थ्यो।
भेडापालक कृषक राजबहादुर रावल भन्नुहुन्छ, “हिमपात नहुँदा पाटनमा घाँस उम्रिएको छैन। जताततै माटो र कालो पहाड मात्रै देखिन्छ। पशुचौपाया चराउन पनि निकै समस्या भइरहेको छ।”
हिमपात नहुँदा वातावरण अत्यधिक सुक्खा र धुलोयुक्त बनेको छ। गाउँघरमा धुलो र माटो उड्दा रुघाखोकी, भाइरल ज्वरो जस्ता समस्या बढ्दै गएको स्थानीयको भनाइ छ।
मुगु जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि सडक पिच नहुँदा साना–ठूला मालवाहक सवारीसाधन आवतजावत गर्दा उड्ने धुलोले सर्वसाधारण बासिन्दा र विद्यालय जाने विद्यार्थीहरूलाई समेत ठूलो समस्या बनाएको छ।
स्थानीय बासिन्दाले छिटो हिमपात होस् र दीर्घकालीन रूपमा कृषि, स्वास्थ्य र सडक व्यवस्थापनमा राज्यको ध्यान जाओस् भन्ने माग गरेका छन्।







