कालिकोट । “खुसी राखौँ बालबालिकाका मुहार, बालमैत्री शुभकालिका समृद्धिको आधार” भन्ने मूल नारासहित शुभकालिका गाउँपालिका वडा नम्बर २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।

बालबालिकाको हक, अधिकार, सहभागिता तथा सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ बालमैत्री स्थानीय शासन( CFLG) अन्तर्गतका आवश्यक सबै सूचकहरू पूरा भएपछि शनिबार औपचारिक रूपमा वडा घोषणा गरिएको हो।

वडाभित्र बालमैत्री शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सहभागितालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको जनाइएको छ। बालश्रम, बालविवाह, हिंसा तथा शोषणविरुद्ध समुदायस्तरमै व्यापक सचेतना अभिवृद्धि गरिएको छ भने बालबालिकालाई स्थानीय निर्णय प्रक्रियामा सहभागी गराउने अभ्यासलाई पनि संस्थागत गरिएको छ।
स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, आमा समूह, युवा क्लब तथा अन्य सरोकारवाला निकायहरूको सहकार्यमा वडा बालमैत्री मापदण्डअनुसार अघि बढेको भिडिसेफ नेपाल कालिकोटकी परियोजना संयोजक सरिता खत्रीले बताउनुभयो। उहाँका अनुसार बालमैत्री वडा घोषणासँगै बालबालिकाका लागि सुरक्षित खेलमैदान, अनुकूल सिकाइ वातावरण तथा बालमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइनेछ।
शुभकालिका गाउँपालिका–२ मा आयोजित विशेष घोषणा समारोह वडा अध्यक्ष मन बहादुर शाहीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटकी उपाध्यक्ष मिना रावल र शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष आचार्यले बालबालिकाको अधिकार संरक्षण, सहभागिता र सुरक्षित वातावरण निर्माण नै समृद्ध स्थानीय शासनको आधार भएको उल्लेख गर्नुभयो। उहाँले बालमैत्री नीति कागजमा मात्र सीमित नभई व्यवहारमा लागू गर्न स्थानीय तह पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
त्यसैगरी जिल्ला समन्वय समिति उपाध्यक्ष रावलले बालमैत्री वडा घोषणा केवल औपचारिकता नभई दीर्घकालीन उत्तरदायित्व भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितामा निरन्तर ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
वडा अध्यक्ष शाहीले वडा नम्बर २ लाई बालमैत्री बनाउन सरोकारवाला निकाय, अभिभावक, शिक्षक तथा समुदायको सक्रिय सहयोगले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले आगामी दिनमा बालबालिकाको हितमा केन्द्रित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दराज सुवेदी, जिल्ला प्रहरी प्रमुख हिम बहादुर खत्री, सामाजिक विकास कार्यालय प्रमुख अबिराज शाहीलगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। साथै स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, बाल क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
शुभकालिका गाउँपालिका वडा नम्बर २ को आयोजनामा तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भिडिसेफ नेपाल कालिकोटको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो। घोषणा समारोहसँगै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ।







