बालविवाह न्यूनीकरणका लागि मुगुका चार पालिकामा साझा अभियान

  ।   ६ पुष २०८२, आईतवार २०:०३

रतन रावल ,मुगु । हिमाली जिल्ला मुगुमा बाल अधिकारको संरक्षण र बालविवाह न्यूनीकरणका लागि साझा अभियान सञ्चालनमा आएको छ। जिल्लामा लामो समयदेखि बालबालिकाको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरू एकजुट भई उक्त अभियान सुरु गरेका हुन्।

बालविवाह न्यूनीकरणका लागि सहकार्य र समन्वय आवश्यक रहेको निष्कर्षसहित जिल्लामा कार्यरत सबै गैरसरकारी संस्थाहरूको सहभागितामा साझा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। हाल यस अभियानमा जिल्लाका सक्रिय १० वटा गैरसरकारी संस्थाहरू संलग्न छन्।

कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र ९सिडिएसपार्क० मुगुको संयोजकत्वमा साझा अभियान सञ्जाल गठन गरिएको हो। सञ्जालमा ग्रामीण सामुदायिक संस्था, नेपाल पत्रकार महासंघ मुगु, आई.एन.एफ नेपाल, किर्डाक नेपाल, हिरिसडेक, सहास नेपाल, मालिका सामुदायिक विकास केन्द्र, जनसमुदाय सेवा केन्द्र, नागरिक समाज मुगु लगायतका संस्थाहरू आबद्ध छन्।

सिडिएसपार्क मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीका अनुसार ९ सदस्यीय कार्यसमिति गठन गरी अभियान औपचारिक रूपमा सुरु भइसकेको छ। उनका अनुसार कर्णाली प्रदेशसहित मुगु जिल्लामा बालविवाहको समस्या अझै घट्न नसकेको देखिए पनि सरकारी निकाय तथा गैरसरकारी संस्थासँग यकिन र आधिकारिक तथ्यांक उपलब्ध नभएको अवस्था छ।

आइतबार बालविवाह विरुद्ध साझा अभियान सञ्जालले जिल्लाका पत्रकारहरूसँग अन्तरक्रिया तथा अवगत गराउने कार्यक्रमसमेत आयोजना गरेको छ। कार्यक्रममा बढ्दो बालविवाह दर न्यूनीकरण गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अभियानलाई प्रभावकारी बनाउन समन्वय, सहकार्य र हातेमालो आवश्यक रहेको शाहीले आग्रह गर्नुभयो।

यस साझा अभियानले छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा नमूना कार्यक्रमका रूपमा काम गर्ने विश्वास सिडिएसपार्क मुगुका वरिष्ठ व्यवस्थापन प्रमुख रूप बहादुर मल्लले व्यक्त गर्नुभयो। साथै, संघ–संस्थाहरूको साझा अभियानमा सञ्चार क्षेत्रलाई समेत प्राथमिकताका साथ जोडिएको उहाँले बताउनुभयो।

बालविवाह न्यूनीकरणका लागि सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै साझा अभियानले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित शीर्षक