सुर्खेत । बागलुङको निसीखोलामा यात्रु बाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तरगत निसीखोला गाउँपालिका ६ जाहुलेपानी भन्ने स्थानमा बस दुर्घटना भएको हो ।
रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौँका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बसमा ४० देखी ४५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले बताउनुभयो ।
सूचना अधिकारी चिलवालका अनुसार दुर्घटनामा ४ जना गम्भीर र १७ जना सामान्य घाइते भएका छन् । काठमाडौँका लागि छुटेको रात्रि बस दिउँसो ४ः३० बजेको समयमा दुर्घटना भएको छ ।
घाइतेलाई उपचारका लागि ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ । घटनाको थप विवरण भने आउन बाँकी रहेको छ । दुर्घटनामा चालक भने सकुशल रहेको बताइएको छ । घटनास्थलमा उद्धारका लागि प्रहरीको टोली पुगेको छ ।