कालिकोटमा हिमालयन लाइफ इन्स्योरेन्सको कार्यालयमा तालाबन्दी, बिमा रकम विवाद चुलियो

  ।   १४ पुष २०८२, सोमबार १४:३७

कालिकोट । कालिकोट जिल्लामा अवस्थित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यालयमा आज तालाबन्दी गरिएको छ। बिमा किस्ता भुक्तानीसम्बन्धी विवाद समाधान नभएपछि सेवाग्राहीहरूले बाध्य भएर कार्यालयमा तालाबन्दी गरेको बताएका छन्।

खाँडाचक्र नगरपालिका–२ निवासी बिर्खबहादुर खड्काले २०७९ सालमा जीवन बिमा गरेका थिए। उनले २०८१ सालसम्म नियमित रूपमा किस्ता तिरेको दाबी गर्दै आएका छन्। तर चालु आर्थिक वर्ष २०८२ को किस्ता तिर्न जाँदा २०८१ को किस्ता प्रणालीमा इन्ट्री नभएको भन्दै कार्यालयले किस्ता लिन अस्वीकार गरेपछि विवाद सुरु भएको पीडित पक्षको भनाइ छ।

खड्काले आफूबाट ३२ हजार ७ सय ३५ रुपैयाँ ठगी गरिएको आरोप लगाएका छन्। त्यस्तै, स्थानीय देवराज शाहीले पहिलो किस्ताबापत तिरेको बिमा रकम फिर्ता माग्दा कम्पनीले दिन नमानेपछि थप आक्रोश बढेको जनाइएको छ।

सवारी चालकसमेत रहेका बिर्खबहादुर खड्का असार महिनादेखि निरन्तर कार्यालय धाइरहे पनि समस्या समाधान नभएपछि अन्ततः तालाबन्दी गर्नुपरेको युवानेता हिक्मतजंग मल्लले जानकारी दिए। उनका अनुसार पटक–पटक आग्रह गर्दा पनि कम्पनीले स्पष्ट जवाफ नदिएको र सेवाग्राहीलाई झुलाइराखेको आरोप छ।

पीडित पक्षले समस्या तत्काल समाधान नगरे थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। यस घटनाले ग्रामीण क्षेत्रमा बिमा सेवाको विश्वसनीयता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

Next Post

वैकल्पिक राजनीतितर्फ अर्को कदमः रास्वपा र उज्यालो नेपालको एकता

१४ पुष २०८२, सोमबार १४:३७
काठमाडौं । देशको समसामयिक राजनीतिमा ठूलो तरंग ल्याउने घटनाक्रमका रूपमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने ऐतिहासिक सहमति भएको छ। सोमबार साँझ काठमाडौंको कमलपोखरीस्थित एक निजी स्थानमा भएको निर्णायक वार्ताले यो राजनीतिक एकीकरणको ढोका खोलेको हो। उच्चस्तरीय छलफलमा उज्यालो नेपाल […]