कर्णाली जेसीजले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गर्दै

  ।   १३ असार २०८३, शनिबार २१:३०

कालिकोट । कर्णाली जेसीज कालिकोट (वर्ष २०२६) को आयोजनामा मिति २०८३ साल असार १४ गते निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रममा रक्त समूह (ब्लड ग्रुप), रक्तचाप (ब्लड प्रेसर) तथा ब्लड सुगर परीक्षण निःशुल्क रूपमा गरिने भएको छ।

समुदायमा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा नागरिकलाई नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी भई आफ्नो स्वास्थ्य अवस्था परीक्षण गराउन सम्पूर्ण कालिकोटवासीलाई आयोजकले आग्रह गरेको छ।
कर्णाली जेसीज कालिकोट (वर्ष २०२६) का अध्यक्ष जेसी प्रभुराम पाण्डे ले स्वास्थ्य नै मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकाले नियमित स्वास्थ्य परीक्षणलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्ने र स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन्। रोग लागेपछि उपचार गर्नुभन्दा समयमै स्वास्थ्य परीक्षण गरी रोगको पहिचान र रोकथाम गर्नु बुद्धिमानी हुन्छ।यही उद्देश्यका साथ कर्णाली जेसीज कालिकोटले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको हो। यस कार्यक्रमबाट लाभ लिन सम्पूर्ण नागरिकलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछु।

कार्यक्रममा रक्त समूह, रक्तचाप तथा ब्लड सुगर परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिनेछ। आयोजकका अनुसार स्थानीय नागरिकको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्राप्त गर्न तथा स्वास्थ्यप्रति सचेतना बढाउन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कार्यक्रम सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायहरूको सहयोग रहने छ।