दैलेख । दैलेखको रामाघाट पुल नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो करिब ४ः३० बजे कर्णाली प्रदेश ००२–००१ ख ०२७५ नम्बरको ट्रकले बाग्मती प्रदेश ३–०२–००६ प ८५६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
ठक्करबाट मोटरसाइकलमा पछाडि सवार कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका–११ का १८ वर्षीय एडमन शाहीको घटनास्थलमै मृत्यु भएको हो । उनी एस क्लबका उदयीमान खेलाडी समेत रहेको बुझिएको छ । मोटरसाइकल चालक विपिन भारती भने सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी नायब निरीक्षक लालबहादुर सुनारका अनुसार ट्रक चालक बालाराम खड्कालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।
आफन्त आन्दोलित, सडक अबरुद्ध
घटनापछि मृतकका आफन्त र स्थानीयवासी आन्दोलित भएका छन् । उनीहरूले कर्णाली राजमार्ग अन्तर्गत दैलेखको राकम, कालिकोटको मान्म बजार तथा कर्णाली करिडोरको रेगिल क्षेत्रमा टायर बाल्दै विरोध गरेका छन् । साथै, सुर्खेतमा समेत आन्दोलन गरिएको छ ।
आफन्तहरूले दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै सडक केही समय अवरुद्ध गरेका थिए । मृतकका आफन्त सुरेश शाहीले भने, “ड्राइभर हत्यारा बनेर ज्यान लिएको छ, गाडी साहु समेत दोषी छन् । यदि अन्यत्र मिलापत गर्ने प्रयास भयो भने खतराको घण्टी बज्नेछ ।” उनीहरूले माग पूरा नभए थप कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।








