अपडेट

श्रावण शुक्ल पूर्णिमा: जनै पूर्णिमा र रक्षाबन्धन पर्व आज देशभर धूमधामसहित मनाइँदै

  ।   २४ श्रावण २०८२, शनिबार १९:३२

सुर्खेत। आज श्रावण शुक्ल पूर्णिमाको पावन अवसरमा हिन्दू धर्मावलम्बीहरूले जनै पूर्णिमा र रक्षाबन्धन पर्व देशभर विशेष पूजा–अर्चना र परम्परागत विधिहरूसहित मनाइरहेका छन्।

यस दिन तागाधारी ९ब्राह्मण, क्षत्रिय र वैश्य० समुदायले बिहानै नदी, तलाउ वा कुण्डमा स्नान गरी पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने प्रथा छ। वैदिक विधिअनुसार सप्तऋषि र अन्य ऋषिहरूको स्तुति गर्दै तर्पण गर्ने, मन्त्रपाठ गर्ने र रुद्राभिषेक सम्पन्न गर्ने चलन पनि छ। पुरानो जनै त्यागेर नयाँ धारण गर्दा जीवनमा शुद्धता, संयम र अनुशासन बढ्ने धार्मिक विश्वास रहेको छ।

रक्षाबन्धन पर्वको सन्दर्भमा, दिदीबहिनीहरूले आफ्ना दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरूको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दछन्। बदलामा दाजुभाइले दिदीबहिनीलाई उपहार वा दक्षिणा दिने परम्परा रहिआएको छ। तराई क्षेत्रमा मात्र सीमित यो परम्परा अहिले हिमाल, पहाड र तराईका सबै समुदायमा चाडपर्वका रूपमा फैलिएको छ।

पौराणिक कथाअनुसार, सत्ययुगमा देवगुरु बृहस्पतिले दानवहरूको शक्तिशाली राजा बलीलाई बाँध्न तयार गरेको रक्षा सूत्रबाट रक्षाबन्धनको चलन सुरु भएको हो। त्यही धागोले जस्तोसुकै संकटबाट रक्षा हुने विश्वास गरिन्छ।

जनै पूर्णिमासँगै क्वाँटी खाने परम्परासमेत जोडिएको छ। ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर तयार गरिने क्वाँटी खानाले शरीरलाई तातो प्रदान गर्ने, पाचन शक्ति बढाउने र रोग प्रतिरोध क्षमतामा सुधार ल्याउने आयुर्वेदिक मान्यता छ।

धार्मिक महत्त्वसँगै जनै पूर्णिमा र रक्षाबन्धन पर्वले दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता, विश्वास र आपसी सम्मानलाई अझ मजबुत बनाउने अवसर प्रदान गर्ने मान्यता रहिआएको छ।

Next Post

बडीमालिकामा भीरबाट लडेर दुई तीर्थयात्रीको मृत्यु, सेनाको जोखिमपूर्ण उद्धारपछि शव सुरक्षित

२४ श्रावण २०८२, शनिबार १९:३२
बाजुरा। बाजुराको पवित्र तीर्थस्थल बडीमालिका दर्शन गर्न आएका दुई तीर्थयात्रीले यात्राको अन्तिम क्षणमा जीवन गुमाएका छन्। विष्णुपानी क्षेत्रको भीरबाट लडेर ज्यान गुमाएका ती यात्रुहरूको शव नेपाली सेनाले कठिन भौगोलिक परिस्थिति र खराब मौसमसँग जुध्दै निकाल्न सफल भएको हो। साउन २२ गते साँझ करिब ६ बजे, बडीमालिकाको दर्शन सकेर फर्किरहेका काठमाडौंको […]