सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय मङ्गलबहादुर शाहीले पदभार ग्रहण गरेको १०० दिनमा भएका प्रमुख उपलब्धि सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनमार्फत सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री शाहीले कानुन निर्माण, शासकीय सुधार, पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए।
उनका अनुसार यस अवधिमा पाँचवटा विधेयक प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषद्बाट स्वीकृति, विभिन्न नियमावली तथा कार्यविधि निर्माण, कर्मचारी व्यवस्थापन, एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली लागू तथा विकास आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने काम गरिएको छ।
त्यस्तै, विपद् प्रभावितलाई राहत तथा पुनर्स्थापना, सडक तथा पुल निर्माण, स्वास्थ्य सेवा विस्तार, खेलाडीलाई प्रोत्साहन र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले सार्वजनिक गरेका उपलब्धिमाथि पत्रकारहरूले कर्णालीको समग्र विकास, बजेट खर्चको न्यून अवस्था, सुशासन, सेवा प्रवाह, विकास आयोजनाको ढिलाइ तथा पछिल्लो समय प्रदेशमा देखिएका समसामयिक गतिविधिबारे प्रश्न उठाएका थिए। मुख्यमन्त्री शाहीले पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्राथमिकता, चुनौती र आगामी कार्यदिशाबारे धारणा राखेका थिए।
सरकारले सय दिनमा गरेका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरे पनि ती योजनाको प्रभावकारी कार्यान्वयन, बजेट खर्च र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाम आगामी दिनमा सरकारका लागि मुख्य चुनौती देखिएका छन्।






