खेलकुदले गाउँ र समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास
मनोज बि.क
कालिकोट । खाँडाचक्र नगरपालिका–४, कालिकोटमा आयोजना गरिएको प्रथम वडा स्तरीय सन्तोष बिक स्मृति कप–२०८२ भलिबल प्रतियोगिता भव्य समारोहबीच सुरु भएको छ। स्थानीय खेलमैदानमा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष प्रभानन्द आचार्यले प्रतियोगिताको उद्घाटन गर्नुभयो।

उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष आचार्यले खेलकुदलाई मनोरञ्जनको साधन मात्र नभई गाउँ–समाजमा एकता, अनुशासन र आत्मविश्वास जगाउने महत्वपूर्ण माध्यमका रूपमा चित्रण गर्नुभयो। “खेलले युवाहरूलाई गलत बाटोबाट जोगाउँछ, आत्मबल बढाउँछ र सकारात्मक सोच विकसित गर्छ,” उहाँले भन्नुभयो, “आज हाम्रो गाउँमा युवाहरूको जोश र उत्साह देख्दा हामी सबै गौरवान्वित छौं।”

त्यसैगरी खाँडाचक्र नगरपालिका–१ का वडा अध्यक्ष धर्मराज ताम्राकारले खेलसँगै शैक्षिक, सांस्कृतिक र भौतिक विकास पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, “खेलकुदले सामाजिक सम्बन्ध सुदृढ बनाउँछ र युवालाई सकारात्मक बाटोमा प्रेरित गर्छ।”
कार्यक्रममा सहभागी अथिती युवा नेता नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य लक्ष्मण शाहीले खेलकुदले युवामा हौसला र एकता सिर्जना गर्ने उल्लेख गर्दै भने, “ताडी क्षेत्रका युवाको जोश देख्दा गर्व लाग्छ। यस्ता प्रतियोगिताले गाउँमा नयाँ उर्जा र प्रेरणा ल्याउँछन्।”
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला समिति सदस्य युवा नेता हस्तलाल बिकले खेलकुदलाई देश र समाज निर्माणको आधार ठहर गर्दै युवाहरूलाई सशक्त भूमिकामा उत्रन आह्वान गर्नुभयो। उहाँले जोड दिनुभयो, “खेलले युवामा आत्मबल, सहकार्य र देशभक्तिको भावना जागृत गर्छ। वडा र गाउँको विकासका लागि हामी सबै मिलेर अघि बढ्नुपर्छ।”
स्मृति कपमा विभिन्न टोल र विद्यालयका टोलीहरूले सहभागिता जनाएका छन्। स्थानीय समुदाय, विद्यालय र व्यवसायीहरूले प्रतियोगितामा सहयोग पुर्याउँदै खेलकुदको माध्यमबाट युवा विकासमा योगदान दिइरहेका छन्।
स्थानीयहरूको भनाइअनुसार, प्रतियोगिता स्व. सन्तोष बिकको सम्झनामा आयोजना गरिएको हो, जसले गाउँमा खेलकुद र सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याएका थिए।
उद्घाटन समारोहमा आकर्षक सांस्कृतिक प्रस्तुति, गीत–संगीत र खेलाडीहरूको उत्साहपूर्ण सहभागिताले वातावरण उत्सवमय बनेको थियो।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ २०८२ असोज ३० गतेदेखि कार्तिक १ गतेसम्म खेल प्रतियोगिता चल्लेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार ३५,००० (कप र मेडल सहित), द्वितीय पुरस्कार २५,००० (कप र मेडल सहित )र तृतीय पुरस्कार र १५,००० (कप र मेडल सहित) रहेको आयोजगले जनाएको छ ।







