काठमाडौं — निर्वाचन आयोग, नेपाल ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मौन अवधिमा सवारी साधन सञ्चालनसम्बन्धी विशेष निर्देशन जारी गरेको छ। आयोगले मतदान कार्य निष्पक्ष, मर्यादित र शान्तिपूर्ण बनाउन अत्यावश्यक बाहेकका सवारी साधन प्रयोगमा कडाइ गर्ने जनाएको छ।

आयोगद्वारा जारी सूचनाअनुसार मतदानभन्दा ४८ घण्टा अगाडिदेखि लागू हुने मौन अवधिमा एम्बुलेन्स, शववाहन, दमकलजस्ता अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन गर्न पाइनेछ। त्यस्तै, खानेपानी, दूध, फलफूल, तरकारी, मासु तथा औषधि जस्ता दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीलाई पनि आवश्यक प्रमाणका आधारमा अनुमति दिइनेछ।

सरकारी कामकाजका लागि प्रयोग हुने सवारी, सुरक्षा निकायका सवारी, स्वास्थ्यकर्मी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई ओसारपसार गर्ने सवारी साधनलाई समेत आवश्यक समन्वयपछि सञ्चालन गर्न दिइने आयोगले स्पष्ट पारेको छ।

आयोगले विशेष गरी राजनीतिक दल, उम्मेदवार वा तिनका समर्थकद्वारा प्रयोग गरिने सवारी साधनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जनाएको छ। आचारसंहिता उल्लङ्घन गरी सवारी साधन प्रयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
यस व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गरी निगरानी कडा पारिने आयोगले जनाएको छ।
निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम राख्न सबै सरोकारवाला पक्षलाई नियमको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ।प्रेस पास भएका पत्रकारलाई निर्वाचनको दिन सवारी चलाउन अलगै पास लिन नपर्ने समेत जनाइएको छ ।






