सुर्खेत। कर्णाली प्रदेशमा लामो समयदेखि झेलिँदै आएको इन्धन अभावको समस्या अब अन्त्यतर्फ उन्मुख भएको छ। प्रदेशमा अहिलेसम्म ठूलो क्षमताको डिजेल–पेट्रोल भण्डारण डिपो नहुँदा इन्धन आपूर्तिका लागि बारम्बार नेपालगन्जको भर पर्नुपर्ने अवस्था थियो। ट्याङ्कर ढिलो आइपुग्दा हप्तौँसम्म अभाव सिर्जना हुने गरेको थियो।
अब भने नेपाल आयल निगम ले सुर्खेतस्थित आफ्नै कार्यालय परिसरमा प्रदेशस्तरीय अत्याधुनिक इन्धन डिपो निर्माण प्रक्रिया अघि बढाएको छ। करिब १४ करोड रुपैयाँ लागतमा निर्माण हुने डिपोका लागि निगमले बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ।
कस्तो हुनेछ नयाँ डिपोर ?
हाल सुर्खेत डिपोमा ४५ हजार लिटर मटितेल र ६० हजार लिटर हवाई इन्धन मात्र भण्डारण गर्ने क्षमता छ। डिजेल र पेट्रोल भने नेपालगन्जबाट ट्याङ्करमार्फत ल्याएर सोही दिन पम्पहरूमा वितरण गर्नुपर्ने बाध्यता रहेको छ।
नयाँ योजनाअनुसार— २ लाख ८० हजार लिटर डिजेल भण्डारण क्षमता १ लाख ४० हजार लिटर पेट्रोल भण्डारण क्षमता निर्माण सम्पन्न गर्ने लक्ष्य २०८४ सालभित्रै राखिएको छ। डिपो बनेपछि सुर्खेतमा इन्धनको मौज्दात उल्लेखनीय रूपमा बढ्नेछ।
दैनिक खपत उच्च, भण्डार अभाव
सुर्खेत कार्यालयले सल्यानबाहेक कर्णालीका ९ जिल्लामा इन्धन आपूर्ति गर्दै आएको छ। यहाँ दैनिक करिब १ लाख लिटर डिजेल र ६० हजार लिटर पेट्रोल खपत हुन्छ। तर आफ्नै भण्डारण सुविधा नहुँदा नेपालगन्जबाट ढुवानीमा सामान्य ढिलाइ भए पनि बजारमा अभाव हुने गरेको थियो।
निगमका अधिकारीहरूका अनुसार नयाँ डिपो सञ्चालनमा आएपछि केही दिन ट्याङ्कर नआए पनि बजारमा इन्धन अभाव हुन दिइने छैन।
स्थानीयस्तरमै आपूर्ति सुरक्षा
कार्यालयको करिब एक बिघा जग्गाभित्र निर्माण हुने यो डिपोले कर्णालीको इन्धन आपूर्ति प्रणालीलाई दीर्घकालीन रूपमा मजबुत बनाउने विश्वास गरिएको छ। अब बाटो अवरुद्ध भए पनि वा ढुवानीमा समस्या आए पनि सुर्खेत र आसपासका जिल्लामा इन्धन संकटको सम्भावना न्यून हुनेछ।
यो परियोजनाले कर्णाली प्रदेशका उपभोक्ता, व्यवसायी तथा यातायात क्षेत्रलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।








