रतन रावल,
मुगु । विश्वभर मनाइने “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” मुगुमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सोमबार औपचारिक रूपमा समापन गरिएको छ। कार्यक्रम “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित छायाँनाथ रारा नगरपालिकाको आयोजनामा गरियको हो ।
अभियानको समापन तथा औपचारिक कार्यक्रम छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम र उप–प्रमुख ऐश्वर्या मल्लले “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” मा भनाई राखेका हुन ।
कार्यक्रममा बोल्दै मेयर भामले महिला सशक्तिकरण बिना समृद्ध समाज निर्माण असम्भव हुने भन्दै नगरपालिकाले महिला लक्षित नीतिहरू, कार्यक्रमहरू र सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। “महिलाले डर होइन, अधिकारको साथ बोल्न सक्ने वातावरण बनाउनु हाम्रो दायित्व हो,” भामले भने।
उप–प्रमुख मल्लले लैङ्गिक हिंसा घरभित्रकै व्यवहार, सोच र संस्कारबाट अन्त्य गर्नुपर्ने बताउँदै डिजिटल प्रविधिको दुरुपयोगसँगै अनलाइन दुव्र्यवहार, बदनाम गर्ने प्रयास र साइबर हिंसा बढिरहेको उल्लेख गरिन्। “प्रविधि प्रयोग गर्न सिकाउने मात्र होइन, सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्ने चेतना अहिलेको आवश्यकताहो,” उनले भनिन्।
अभियानको प्रारम्भदेखि अन्त्यसम्मका कार्यक्रमहरूमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, गैर–सरकारी तथा सरकारी निकाय, राजनीतिक दलका नेताहरू, पत्रकार, शिक्षक, युवा, स्थानीय महिला तथा समुदायका अगुवाहरूको उत्साहजनक सहभागिता रह्यो।
कार्यक्रममा मेचीकाली अभियानकी संयोजक सूर्यादेवी मल्लले समानता, सम्मान र न्यायमा आधारित समाज निर्माणका लागि सामूहिक आवाज आवश्यक रहेको बताइन्।
“लैङ्गिक हिंसा रहित समाज निर्माण केवल कथन होइन, व्यवहारमा लागू गर्नुपर्ने लक्ष्य हो,” उनले जोड दिइन्।
त्यसैगरी, नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले महिलामाथिको हिंसा पुरुषप्रधान सोचको परिणाम भएको बताउँदै अब महिलाले सहेर बस्ने होइन, अधिकार माग्ने र प्रतिवाद गर्नुपर्ने समय आएको बताए।
अभियानको अन्त्यमा विभिन्न क्षेत्रबाट महिलाको हक अधिकार, नेतृत्व विकास र न्यायका लागि योगदान पुर्याउने महिलाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। उप–प्रमुख मल्लले सम्मान ग्रहण गर्ने महिलाहरूलाई बधाई दिँदै विगतका संघर्षहरूले नै आज महिलालाई नेतृत्वका अगाडि पंक्तिमा पु¥याएको बताइन्।







